बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ मा ‘गाउँ फर्कौँ, आफ्नै गाउँ बनाऔँ’ भन्ने नीति लिएको छ। नगरपालिकाको १९औँ नगरसभामा नगरप्रमुख नरबहादुर पुनले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक रोजगारीबाट फर्किएका स्वरोजगार बन्न चाहने युवालाई घुम्ती कोषमार्फत उद्यमी बन्न प्रेरित गर्नका निम्ति यो कार्यक्रम ल्याएको बताए।
नगरपालिकाले अर्थ, उद्योग, वाणिज्य र लघुउद्यम कार्यक्रममा सो कार्यक्रम ल्याएको नगरप्रमुख पुनले जानकारी दिए। वार्षिक कार्यक्रममा आर्थिक विकासतर्फ आफ्नै मल, आफ्नै उत्पादनको आधार स्वस्थ उत्पादन र स्वस्थ परिवार भन्ने अभियानलाई आत्मसात् गर्दै प्रांगारिक मल उत्पादन र प्रयोग गर्नका निम्ति प्रांगारिक मल उद्योग स्थापना गर्ने नीति ल्याएको छ। कृषितर्फ नै ‘हरेक खेतमा सिँचाइ हरेक किसानमा समृद्धि’ कार्यक्रम अगाडि सारेको छ भने ‘सेरा जाऊँ केरा खाऊँ’ कार्यक्रमलाई निरन्तरता दिएको छ।
नगरपालिकाले ‘नराखौँ जमिन खाली लगाऊँ सुहाउँदो बाली’ भन्ने नाराका साथै नगरभित्रका हरेक क्षेत्रमा उत्पादन हुने वस्तुको पहिचान गरी सोहीअनुसार बाँझो जमिनको सदुपयोग गर्ने कार्यक्रम अगाडि सारेको छ। नगरपालिकाले अन्य पालिकाबाट बसाइँसराइ गरी आएका युवा, सिपयुक्त जनशक्ति तथा गाउँमै उद्यम गर्न इच्छुक नागरिकलाई लक्षित गरी फर्किएका युवा गाउँको शक्ति : उद्यम विकास, समृद्धिको आधार भक्ति, कार्यक्रम अगाडि सारेको छ। नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धनतर्फ यहाँको मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने भएको छ। त्यसका साथै राष्ट्रिय दलित संग्रहालयको अवधारणालाई कार्यान्वयनको आधार तयार गर्ने नीति लिएको छ।
नगरपालिकाले पूर्वाधारतर्फ दिगो र वातावरणमैत्री पूर्वाधार जैमिनी नगरको समृद्धिको आधार भन्ने नारालाई सार्थक बनाउने उद्देश्यले नगरभित्रका १३ वटै दिगो सडकको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ। त्यसैगरी सडक पूर्वाधार निर्माण तथा सुधार कार्यक्रमका लागि नाली निर्माण, टेवा पर्खाल, पानी निकास र घुम्ती सुधार कार्यक्रमलाई प्राथमिकता दिइएको छ। त्यसैगरी जैमिनी नगरपालिकाका सवारीसाधनको व्यवस्थापनका निम्ति बसपार्कको व्यवस्थापन गरिने नीति नगरप्रमुख पुनले प्रस्तुत गरेका छन्।
नगरपालिकाले नगरभित्रका मापदण्डविपरीत बनेका घर–टहरा हटाई व्यवस्थित सहर निर्माणमा पहल गर्ने कार्यक्रम र सुकुमवासीमुक्त पालिका घोषणाको नीतिलाई निरन्तरता दिने कार्यक्रम अगाडि सारेकाे छ। नगरपालिका निर्माणाधीन अवस्थामा रहेको प्रशासकीय भवनलाई आगामी मंसिरभित्र सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रवाह गर्ने गरी अगाडि बढेको छ।
नीति तथा कार्यक्रममा जलविद्युत् र वैकल्पिक ऊर्जातर्फ अवस्थित पोल र तारहरू हटाई व्यवस्थित बनाउने पहल गरिने तथा नगरका मुख्य बजार क्षेत्र र सार्वजनिक भवनलगायतका स्थानमा सौर्य बत्ती जडान कार्यलाई निरन्तरता दिने उल्लेख गरिएको छ।
नगरपालिकाको केन्द्र कुश्मिसेरामा फ्री वाइफाईको प्रबन्ध गर्ने, फोहोरमैला व्यवस्थापनका निम्ति निजी क्षेत्रसँग सहकार्य गर्दै नगर क्षेत्र र बजारउन्मुख क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित राख्न प्रत्येक घरको अगाडि गमला राख्नेजस्ता बजार सौन्दर्यकरण अभियान चलाइने बताइएको छ।
शिक्षातर्फ नगरले गुणस्तरीय शिक्षाको आधारशिला सुधारिएको पाठशाला भन्ने नारालाई अघि बढाउँदै एक विद्यालय एक करेसाबारी बनाउने गरी हरित विद्यालय कार्यक्रम सञ्चालन गर्न पहल थाल्ने उल्लेख गरेको छ। नवयुवा र आधुनिक समाजको चाहनालाई मध्यनजर गर्दै प्राविधिक धार सञ्चालित शान्ति माविमा एआई ल्याब सञ्चालनको कार्य प्रारम्भ गर्ने तथा एसइई दिने विद्यार्थीको मनोबल बढाई प्राप्तांकमा सुधार ल्याउन मुख्य विषयमा अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ।
शिक्षामा नतिजा सुधार र सिकाइ उपलब्धि वृद्धि गर्ने, नतिजाको आधारमा उत्कृष्ट वर्ष विद्यालय घोषणा गर्ने र रमाइलो पढाइ दिगो सिकाइ कार्यक्रम अगाडि सारेको छ। त्यस्तै, दिवाखाजा राम्रो खाऔँ खुसी भएर विद्यालय जाऔँ भन्ने नारासहित सामुदायिक विद्यालयलाई पूर्ण जंकफुड निशेष गरिने र दिवाखाजाको मेन्यु कार्यान्वय गरिने उल्लेख छ।
नगरपालिकाले विद्यालय उमेरका सबै बालबालिकाको अभिलेखीकरण र भर्ना सुनिश्चित गर्दै शून्य विद्यालयबाहिर बालबालिका कार्यक्रम अगाडि बढाएको छ। नगरपालिकाले स्थापना गरेको नागरिक स्वास्थ्य उपचार कोषलाई वृद्धि गरेर आमनागरिकलाई कोषमा योगदान गर्ने वातावरण बनाउने नीति ल्याएको छ। त्यसैगरी सबै वडामा ग्रामीण भिडियो एक्सरेलाई निरन्तरता दिई पूर्ण संस्थागत प्रसूतिलाई दिगो राखिने कार्यक्रम अगाडि बढाएको छ।