सुर्खेतमा रहेका बादी समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। होसन्ना सेवकाई नेपालको आयोजनामा वीरेन्द्रनगर नगरपालिका–११ को झुप्रा खेलाकिनार र सुब्बाकुनामा रहेका बादी समुदाय केन्द्रित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शनिबार र आइतबार दुई दिन चलेको शिविरमा तीन सय ३३ जनाले सेवा लिएका छन्। शनिबार झुप्रा खोला र आइतबार सुब्बाकुनामा बसोबास गर्ने बादी समुदायलाई लक्षित गरी होसन्ना सेवाकाई नेपाल संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको झुप्रामा एक सय ८० र सुब्बाकुनामा एक सय ५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको होसन्ना सेवाकाई नेपालका कार्यकारी अधिकृत पूजा बादीले बताइन् । ‘शिविरमा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर गणेश तिवारी र स्त्रीरोग विशेषज्ञ डाक्टर भवानी शिल्पकारले जाँच गरेका हुन्,’ उनले भनिन्,‘शिविरका सञ्चालनका क्रममा हाडजोर्नी, छाला, पानीयन्य र स्त्री रोगको समस्या बढी देखिएको छ ।’
समुदायमा किशोराअवस्थामै बच्चा जन्माउने महिलाहरुमा पाठेघरको समस्या देखिएको शिविरमा संलग्न समाजसेवी ज्योति भट्टराईले बताईन् । ‘स्वास्थ्य परीक्षण गरिएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो,’ उनले भनिन्, ‘शिविरका क्रममा पाठेघरलगायतका जटिल समस्या भएका तथा शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूको समेत पहिचान गरिएको छ ।’
शिविरमा स्क्यानिङ गरिएका जटिल बिरामीलाई उपयुक्त अस्पतालमा रेफर गरी आवश्यक शल्यक्रिया तथा थप उपचारका लागि सहयोग गरिने संस्थाका कार्यकारी निर्देशक पूजा बादीले बताइन्। उनले त्यसका लागि आर्थिक तथा प्राविधिक सहयोग संस्थाले गर्ने जानकारी दिइन्।