प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दबाब दिएकोदेखि सीमा विवादको विषयमा आफ्नो अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै विवादमा परेका विषयमा जवाफ दिएका हुन्।
पासपोर्ट छपाइसम्बन्धी अनियमिततामा अख्तियारसँग छलफल गरेको स्वीकार गर्दे उनले यसमा कानुन नमिचिएको बताए। पाँच घन्टा मात्र नभई आवश्यक परे पाँच वर्षसम्म छलफल गर्न सकिने उनको भनाइ छ ।
यस प्रसंगमा वालेनले भने–
हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, प्रतिसोध साँध्ने, पुरानो–पुरानो कुरा लिएर निउँ खोज्दै बस्ने पार्टी होइन । निउ खोज्नु परे अगाडि बढ्दै गर्दा निउ खोजिन्छ । कस्तो केसमा मात्रै भन्दा खेरी विगतमा दिनमा केही फट्याई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनेर निउ खोज्न जरुरी हुन्छ । त्यहाँ दिउ खोज्छौं हामी । र, त्यो निउ खोज्दै गर्दाखेरी अख्तियारलाई पाँच घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह गर्नुपर्छ भने हामी पाँच घन्टा मात्र होइन पाँच वर्ष गर्छाै । पाँच वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ । त्यसमा चिन्ता लिइराख्नुपर्देन । हामीले नियमकानुन मिच्दैनौं । नियममा बसेरै काम गर्छाै । नियमबाहिर जाँदैनौं । हाउभाउ हेर्दाखेरी यस्तो सोसल मिडिया, मिडियामा आउभाउ हेर्दाखेरी अनियन्त्रित देखिएला, त्यो देखिएको मात्र हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन ।
अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर राहदानी विभागका महानिर्देशकलाई पक्राउ गर्न दबाब दिएको भनेर आलोचना भएपछि यस विषयमा प्रधानमन्त्री शाहले जवाफ दिएका छन्। गत साता सरकारकै आग्रहमा अख्तियारको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको थियो। संवैधानिक निकायलाई प्रधानमन्त्रीले दबाब दिएको भनेर प्रश्न उठेपछि उनले यसमा कानून नमिचिएको बताएका हुन्।
त्यस्तै, पछिल्लो समय सीमासम्बन्धि विषयमा दिएको अभिव्यक्तिबारे पनि उनले जवाफ दिदै उनले आफ्नो राष्ट्रियतामाथि शंका नगर्न आग्रह गरेका छन् ।
यस विषयमा उनले भने–
सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। हामीले सीमाको विषयमा बोल्दाखेरी, पक्कै पनि जुनसुकै देशसँग सीमाको विषयमा कुरा गर्दाखेरी उहाँहरुले पनि आपत्ती जनाउनुहुन्छ, मलाई अचम्म लाग्यो । ल ठिक छ, तपाईहरुसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ। र, त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिशले राज गर्दाखेरी त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउछौं भनेका हौं । हामीले ब्रिटिशलाई मध्यस्तकर्ता राख्न खोजेका होइनौं । हामी हाम्रो छिमेकीसँग आफैं कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ र हामी ल्याउँछौं । त्यो कुरा गरिएको हो । यसमा चिन्ता मान्नु पर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नुपर्देन ।
एमालेलाई जवाफ–गन्तव्यमा नपुगी गाडी रोकिदैन
रास्वपाको महाविधेशनमा सम्बोधन गर्न पुगेका एमाले नेता प्रदीप ज्ञवालीले गाडीमा एक्सिलेटर मात्र नभई ब्रेक समेत हुने भएकाले ब्रेक लगाएर अघि बढ्न सुझाव दिएका थिए ।
ज्ञवालीलाई जवाफ दिदै बालेनले भने–
विभिन्न बिशिष्ट अतिथीहरूले विभिन्न सल्लाह दिनुभएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिन्ता पनि लिनुभएको छ, सरकार भनेको त गाडीजस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ, त्यस्तो चिन्ता चाँही लोकल रोडमा हिन्दाखेरी कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर, हाम्रो गाडी लोकल रोडमा हिडेको गाडी होइन, एक्सप्रेस वेमा हिडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ । गन्तव्यमा पुग्नुअघि ब्रेक लगाउन जरुरी हुँदैन । र हाम्रो गाडी अनियन्त्रित पनि छैन ।
सम्बोधनको क्रममा उनले यही कार्यकालमा सहकारी र सुकुम्बासी समस्या समाधान गर्ने र अर्काे चुनावमा नयाँ एजेन्डा बोकेर जाने बताए।
रास्वपाका नेता–कार्यकर्तालाई उनको आग्रह छ–
राम्रो नेता बन्नलाई जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन । समुह बनाउनेतर्फ नलाग्नुहोला ।
आज, भोलि र पर्सी पार्टीको बारेमा सोचौं र त्यसपछि पाँच वर्ष देशको बारेमा सोचौं।