कटारी नगरपालिकाको ९७ करोड ४६ लाखको बजेट सार्वजनिक

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।

आइतबार नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ९७ करोड ४६ लाख ५ हजार ८५६ रुपौयाँको बजेट सार्वजनिक गरिएको हो। जसमा पुँजीगततर्फ १९ करोड ३९ लाख र चालूतर्फ २५ करोड ५१ लाख ४६ हजार ८५६ रुपैयाँ छ। जिल्लाका आठ स्थानीय तहमध्ये आगामी आर्थिक वर्षको बजेट ल्याउने कटारी पहिलो पालिका हो।

बजेटका प्रमुख स्रोतमा संघीय सरकारको ससर्त तथा वित्तीय समानीकरण अनुदान, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी तथा राजस्व बाँडफाँट रहेका छन्। नगरपालिकाले आफ्नो तर्फबाट चालू र पुँजीगत खर्चका लागि ४४ करोड ९० लाखभन्दा बढी विनियोजन गरेको छ भने संघीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान ४५ करोड १२ लाख रहेको छ।

यस्ता छन् नगरपालिकाका विशेष योजना
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा युवालाई लक्षित गर्दै ‘स्टार्ट–अप अनुदान’ कार्यक्रम समावेश गरेको छ। बजेट पुस्तिकाअनुसार नवीन व्यवसायमा युवालाई आकर्षित गर्न कार्यविधि बनाएर अनुदान उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। त्यसैगरी, सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउन सूचना प्रविधिको विस्तारमा जोड दिएको छ।

स्वास्थ्य क्षेत्रतर्फ कटारीमा सञ्चालन भइरहेको आयुर्वेद सेवालाई स्तरोन्नति गरी आयुर्वेद अस्पतालमा रूपान्तरण गर्ने योजना अघि सारिएको छ। साथै, वडा नम्बर ११ को गहुँबारीमा पाँच शय्याको कटारी नगर अस्पताल सञ्चालनका लागि आवश्यक आधार तयार पारिने बताइएको छ।

महाभारत पहाडी क्षेत्रका वडा नम्बर ९, १० र १३ मा वर्षभर सवारीसाधन सञ्चालन गर्न मिल्ने सडक निर्माणका लागि संघ, प्रदेश र नगरपालिकाको समपूरक कोषबाट तीन करोड रुपैयाँबराबरको योजना कार्यान्वयन गरिने बजेटमा उल्लेख छ।

कटारी बहुउद्देश्यीय पार्क निर्माण सम्पन्न गर्न आवश्यक बजेट सुनिश्चित गरिएको छ भने कटारी बसपार्कलाई आधुनिक बनाइने बताइएको छ। नगरपालिकाले वडा नम्बर ८, ११ र १३ का अधुरा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्नसमेत आवश्यक स्रोत व्यवस्थापन गरिएको जनाएको छ।

सुझावित समाचार