स्थापनापछि पहिलोपटक संगठनात्मक परीक्षामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदै छ । चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै विधान संशोधन, संगठनात्मक पुनर्संरचना र भावी राजनीतिक कार्यदिशा तय गर्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनका लागि चितवन रोज्नु संयोग मात्र होइन । रास्वपा सभापति रवि लामिछानेको राजनीतिक उदयसँग पनि चितवनको गहिरो सम्बन्ध जोडिएको छ ।
सञ्चारकर्मीका रूपमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गरिरहेका वेला ०७६ साल साउनमा आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेपछि लामिछानेलाई चितवन प्रहरीको हिरासतमा राखिएको थियो । त्यसविरुद्ध देशभरबाट समर्थकहरू चितवन पुगेका थिए र न्यायको माग गर्दै ऐक्यबद्धता प्रदर्शन गरेका थिए ।
९ भदौमा रिहा भएका लामिछानेलाई ५ माघमा जिल्ला अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको थियो । पछि अदालतबाट सफाइ पाएसँगै लामिछानेले प्राप्त जनसमर्थनलाई राजनीतिक शक्तिमा रूपान्तरण गर्ने निर्णय गरेका थिए । रास्वपा नेतृत्वको बुझाइमा त्यही घटनाक्रमले उनको राजनीतिक यात्राको आधार तयार गरेको थियो । त्यसयता चितवन र लामिछानेबिचको सम्बन्ध अझ बलियो बन्दै गएको छ ।
निर्वाचन परिणामले पनि त्यो सम्बन्धलाई पुष्टि गरेको देखिन्छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन– २ बाट विजयी भएका लामिछानेले उपनिर्वाचनमा झनै फराकिलो मतान्तरसहित पुनः विजय हासिल गरे । त्यसपछि ०८२ को आमनिर्वाचनमा पनि चितवनका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाले सफलता हासिल गर्दै आफ्नो प्रभाव विस्तार गर्यो ।