सिराहा पुस्तकालयको ७१औँ वार्षिकोत्सव सम्पन्न

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण

सिराहा पुस्तकालयले आफ्नो ७१औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। वि.सं २०१२ सालमा स्थापना भएको सिराहा सदरमुकामस्थित सिराहा पुस्तकालयले वार्षिकोत्सवको अवसरमा सिराहाको गोलबजार नगरपालिका–३ मा रहेको पुस्तकालयको जग्गामा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह, गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठलगायतको सहभागितामा २५ वटा आँपका बिरुवा रोपिएका छन्।
वार्षिकोत्सवको अवसरमा सिराहा जिल्लाका एक युवा पत्रकारलाई नगदसहित सम्मान गरिएको छ।

निष्पक्ष, दृढ र समाजप्रति जवाफदेही पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने ‘सक्रिय युवा पत्रकारिता पुरस्कार’ अन्तर्गत अनलाइनखबरका सिराहा संवाददाता सुरेशकुमार रायलाई सम्मान गरिएको हो। उनलाई मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री सिंहले नगद रु. ५,१००, सम्मानपत्र तथा दोसल्लाले सम्मान गरेका छन्।

सिराहा पुस्तकालयका अध्यक्ष सुरेन्द्रकुमार कामतीका अनुसार वार्षिकोत्सवकै अवसरमा पुस्तकालयलाई निःशुल्क पत्रिका उपलब्ध गराउँदै आएका स्थानीय पत्रिका अपन दैनिक, हुँकालोली दैनिक र सीमा सन्देश दैनिक का प्रकाशकलाई कदरपत्र प्रदान गरिएको छ। साथै, सिराहा पुस्तकालयको वेबसाइटको पनि अनावरण गरिएको छ।

समारोहमा प्रदेश सांसद संजयकुमार यादव, सिराहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादव, प्रहरी उपरीक्षक वासुदेव पाठकलगायतले पुस्तकालयलाई डिजिटलाइज गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा संस्कृतिमन्त्री सिंहले पुस्तकालयको महत्व उच्च रहेको उल्लेख गर्दै देशका पुराना पुस्तकालयमध्ये एक सिराहा पुस्तकालयलाई प्रदेशस्तरीय पुस्तकालयका रूपमा विकास गर्न आवश्यक पहल गर्ने बताए। उनले मधेश प्रदेशको शैक्षिकस्तर उकास्न पुस्तकालयहरूको महत्त्वपूर्ण भूमिका रहने भएकाले प्रदेश सरकारले यस सम्बन्धमा थप गृहकार्य गरी आवश्यक नीति अवलम्बन गर्ने पनि बताए।

वार्षिकोत्सव समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सुझावित समाचार