काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १२, महाभिरमा बाँदरबाट काँक्रो जोगाउन लगाइएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार ६८ वर्षीया कमला मुल्मीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार दिउँसो करिब ३ बजे स्थानीय मुल्मी आफ्नै बारीमा काँक्रो खेती जोगाउन बाँदर नियन्त्रणका लागि जडान गरिएको करेन्टमा परेकी थिइन्।
काँक्रोबारीमा गोडमेल गर्न जाने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी निरीक्षकको नेतृत्वमा अधिकृतसहितको टोली घटनास्थलमा पुगेको थियो।
आवश्यक कानुनी प्रक्रिया (मुचुल्का) सम्पन्न गरेपछि शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।