बजेट कार्यान्वयनमा अब परिणाम देखिनुपर्छ : अर्थमन्त्री वाग्ले

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयन कमजोर हुने पुरानो प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले अनुभवी र काम गर्न इच्छुक राष्ट्रसेवकलाई साथमा लिएर सरकारले परिणाममुखी ढंगले अघि बढ्ने स्पष्ट पारेका छन्।

राष्ट्रिय योजना आयोगमा आगामी आर्थिक वर्ष ०८३/८४ को मध्यमकालीन खर्च संरचना तथा बजेट कार्यान्वयन पूर्वतयारीसम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले सक्षम कर्मचारीलाई सरकारले संरक्षण गर्ने बताए। कर्मचारी वृत्तमा नयाँ सरकारबारे अन्योल वा त्रास फैलिएको चर्चा गर्दै उनले त्यस्तो मानसिकतामा नलाग्न आग्रह गरे।

उनले राम्रो कार्यक्षमता भएका राष्ट्रसेवकलाई अझ बढी जिम्मेवारी दिइने उल्लेख गर्दै सेवानिवृत्त भइसकेपछि पनि आवश्यक परे राज्यले जिम्मेवारीमा ल्याउने बताए।

अर्थमन्त्री वाग्लेले निजामती सेवा, सुरक्षा निकाय, स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गराउने सरकारको योजना रहेको बताए। ट्रेड युनियन खारेज गर्ने निर्णय त्यसैको सुरुवात भएको उनको भनाइ थियो।

वर्तमान सरकारमाथि जनताले ठुलो अपेक्षा राखेकाले अब नतिजा देखाउनैपर्ने दबाब रहेको उनले बताए। ‘जेठ १६ गतेदेखि नयाँ सोचका साथ काम सुरु भएको हो, साउन १ गतेदेखि त्यसलाई अझ प्रभावकारी बनाइनेछ,’ उनले भने।

पुँजीगत खर्चको कमजोर अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले चालू आर्थिक वर्षमा हालसम्म करिब ३१ प्रतिशत मात्रै खर्च भएको उल्लेख गरे। विगतमा जस्तै असारे विकास गरेर लक्ष्य पूरा गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने उनको चेतावनी थियो।

सरकारको नीति, बजेट, शासकीय सुधार कार्यक्रम तथा रूपान्तरणका एजेन्डालाई आधार बनाएर आगामी पाँच वर्षको स्पष्ट कार्ययोजना तयार गरी अघि बढ्न उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सुझावित समाचार