उदयपुरमा पहिलोपटक चौदण्डीगढीबाट भूमि प्रशासन र नापी सेवा सुरु

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमि प्रशासन तथा नापीसम्बन्धी सेवा आफ्नै नगरबाट सञ्चालनमा ल्याएसँगै अब स्थानीयवासीले जग्गासम्बन्धी अधिकांश कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

भूमि प्रशासन कार्यालय उदयपुर र जिल्ला नापी कार्यालय उदयपुरबाट प्रदान हुँदै आएका सेवा शुक्रबारदेखि चौदण्डीगढी नगरपालिका– ६, बेलटारस्थित भूमि व्यवस्थापन शाखामार्फत औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। नगर प्रमुख कालुमान लामाले एक कार्यक्रमबिच उद्घाटन गरेर सेवाको औपचारिक रूपमा सुरु गरेका हुन्।

नगरपालिकाका अनुसार पहिलो चरणमा साबिक हडिया, चौदण्डी, बसाहा र सुन्दरपुर गाविस क्षेत्रका नागरिकले नक्सा प्रिन्ट, कित्ताकाट, फिल्ड रेखांकन, कित्ता एकीकरण, नक्सा अद्यावधिकलगायतका सेवा स्थानीय तहबाटै प्राप्त गर्न सक्नेछन्। यससँगै जग्गा रजिस्ट्रेसन (पास), नामसारी, दाखिल–खारेज, लगत कट्टा, रोक्का तथा रोक्का फुकुवा, जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण, भू–उपयोग क्षेत्र वर्गीकरण, राजीनामा, हकहिस्सा, दानपत्र, बकसपत्र, अंशबन्डा, अंश भर्पाइ, दृष्टिबन्धकी, अपुताली नामसारी, घर कायम, गुठी स्थापना तथा नक्सा प्रमाणित प्रतिलिपि वितरणजस्ता भूमि प्रशासनसम्बन्धी सेवा पनि नगरपालिकाबाटै उपलब्ध हुने भएका छन्।

सेवा शुभारम्भकै दिन वडा नम्बर ५ का बलराम चौधरीले पहिलो सेवाग्राहीका रूपमा जग्गा खरिदसम्बन्धी लिखत पारित (जग्गा पास) गराए। उनले विगतमा सामान्य कामका लागि पनि सदरमुकाम पुग्नुपर्ने, यातायात खर्च व्यहोर्नुपर्ने र भिडभाडका कारण एकै दिनमा काम नसकिने समस्या भोग्नुपरेको स्मरण गर्दै अब आफ्नै नगरबाट सेवा पाउँदा समय, श्रम र खर्चको बचत भएको बताए।

नगर प्रमुख लामाले भूमि प्रशासन सेवा स्थानीय तहसम्म विस्तार हुनु संघीयताको व्यावहारिक कार्यान्वयन भएको बताए। उनले यसबाट नागरिकले छिटो, सहज र प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा थप सरकारी सेवा पनि स्थानीय स्तरमै विस्तार गरिने जानकारी दिए।

भूमि प्रशासन सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारको नीतिअनुसार चौदण्डीगढीमा सेवा सञ्चालन गरिएको हो। यसअन्तर्गत मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ राखिएको छ भने मालपोत अधिकृतलाई ‘भूमि प्रशासन अधिकृत’ भनिने व्यवस्था गरिएको छ।

स्थानीय तहबाट सेवा प्रवाह सुरु भएसँगै सेवाग्राहीको समय र आर्थिक खर्च बचत हुनुका साथै बिचौलियाको प्रभाव घट्ने एवं सेवा थप छिटो, पारदर्शी र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।

स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालनमा आएपछि सेवाग्राहीको समय र आर्थिक खर्चमा उल्लेख्य कमी आउने तथा सदरमुकामकेन्द्रित सेवाको चाप घट्ने जिल्ला भूमि प्रशासन कार्यालय उदयपुरका प्रमुख डुबिन्द्रप्रसाद बरालले बताए। उनले भने, ‘यो सेवा बिस्तारै जिल्लाका आठवटै स्थानीय तहमा पुग्नेछ।’
 

सुझावित समाचार