मेटलाइफ नेपालले जीवन बिमा ग्राहकहरूलाई गम्भीर रोगबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिमबाट थप सुरक्षा प्रदान गर्ने उद्देश्यले ‘क्रिटिकल इलनेस प्लस’ नामक नयाँ राइडर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो राइडरले जीवनका संवेदनशील अवस्थाहरूमा तत्काल आर्थिक राहत उपलब्ध गराउने लक्ष्य राखेको छ। गम्भीर रोगको निदान भएपछि बीमितलाई एकमुस्ट रकम भुक्तानी गरिने व्यवस्था गरिएको छ। यसले अस्पताल खर्च मात्र नभई उपचारपछिको पुनर्स्थापना, आम्दानीमा हुने कमी तथा दीर्घकालीन हेरचाहबाट सिर्जित आर्थिक भार व्यवस्थापन गर्नसमेत सहयोग पुर्याउने बताइएको छ।
मेटलाइफले यो राइडरलाई किफायती तथा सहज बनाउने गरी डिजाइन गरेको जनाएको छ। छुट्टै बिमा योजना आवश्यक नपर्ने यो सुविधा योग्य व्यक्तिगत जीवन बिमा योजनासँग सजिलै जोड्न सकिनेछ। राइडरअन्तर्गत क्यान्सर, स्ट्रोक, मिर्गौला फेल हुने समस्या, कलेजो, रोग, मुटुसम्बन्धी रोग तथा प्रमुख अंग प्रत्यारोपणलगायत ११ प्रकारका प्रमुख गम्भीर रोगहरू समेटिएका छन्।
बिमा सम्झौताअनुसार रोगको पुष्टि भएपछि लाभ रकम तुरुन्त भुक्तानी गरिने भएकाले बिमितले आर्थिक चिन्ताभन्दा उपचार र स्वास्थ्य सुधारमा ध्यानकेन्द्रित गर्न सक्ने कम्पनीको भनाइ छ। कम्पनीले एकमुस्ट भुक्तानी सुविधाले परम्परागत स्वास्थ्य बिमाभन्दा बढी लचकता प्रदान गर्ने जनाएको छ। ग्राहकहरूले प्राप्त रकम उन्नत उपचार, विदेशमा उपचार, घरायसी खर्च वा अन्य आर्थिक दायित्व पूरा गर्न प्रयोग गर्न सक्नेछन्। यसले लामो तथा अनिश्चित उपचार अवधिमा भरपर्दो आर्थिक सुरक्षा जालको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
राइडर सार्वजनिक कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गम्भीर रोगले व्यक्तिको स्वास्थ्य र आर्थिक अवस्थालाई एकैपटक प्रभावित गर्न सक्ने उल्लेख गर्दै ‘क्रिटिकल इलनेस प्लस’ मार्फत अर्थपूर्ण, पहुँचयोग्य र किफायती सुरक्षा प्रदान गर्ने प्रयास गरिएको बताए। उनले यसबाट ग्राहकहरूले आर्थिक तनावभन्दा उपचार र स्वास्थ्य लाभमा बढी ध्यान दिन सक्ने विश्वास व्यक्त गरे।
यसैबिच, मेटलाइफ नेपालले आफ्नो समूह क्रिटिकल इलनेस राइडरलाई पनि थप सुदृढ बनाएको जनाएको छ। अब कर्मचारी तथा उनीहरूका परिवारका लागि १४ वा २० प्रकारसम्मका गम्भीर रोगको सुरक्षा विकल्प उपलब्ध हुनेछ। कम्पनीका अनुसार यस परिमार्जनले रोजगारदातालाई लागत–प्रभावकारी समाधान प्रदान गर्दै कर्मचारी सुविधालाई थप मजबुत बनाउनेछ।
मेटलाइफ नेपालले बदलिँदो स्वास्थ्य जोखिम र ग्राहकहरूको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने व्यापक सुरक्षा समाधान विकास गर्ने आफ्नो प्रतिबद्धतालाई यस कदमले अझ सुदृढ बनाएको जनाएको छ।