प्रतिनिधिसभाका सांसदहरूले विद्युतीय राहदानी छपाइ प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरेका छन् ।
सभाको आजको बैठकको प्रारम्भमै विपक्षी दलका सबै सांसद आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खडगबहादुर बुढालाई बोल्न समय दिएका थिए ।
सांसद बुढाले विद्युतीय राहदानी छपाइ प्रकरण सम्बन्धमा सार्वजनिक समाचारबारे स्पष्ट पार्न माग गरे । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले विद्युतीय राहदानी छपाइसम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गरे ।
नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले उपकुलपति छनोट प्रक्रियालाई राजनीतिक प्रभावमुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले दुई देशबिचको सीमाका सम्बन्धमा गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिका विषयमा असहमति जनाए।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गरे।
उनले भारतको पटनामा नेटवर्किङका नाममा नेपाली नागरिक बन्धक बनाइएको भनिएको सार्वजनिक समाचारबारे स्पष्ट पार्न सरकारसँग माग गरे ।