जेन–जी आन्दोलनमा ध्वस्त भएको नयाँ बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण भएको छ । स्थानीयवासी र विभिन्न संघसंस्थाको एक करोड ५० लाखभन्दा बढी आर्थिक सहयोगमा भवन पुनर्निर्माण सम्पन्न भएको हो ।
गत २४ भदौको जेन–जी आन्दोलनमा प्रदर्शनकारीले भवनबाट प्रहरीलाई भगाएर तोडफोड र आगजनी गरेका थिए । त्यसयता स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाले भवन पुनर्निर्माणमा सहयोगका लागि नेपाल प्रहरीको केन्द्रीय कार्यालयसँग समन्वय गरेका थिए ।
आगजनी र तोडफोडपछि भवनको फर्निचरदेखि सबै कागजात जलेर नष्ट भएका थिए । जेन–जी आन्दोलनलगत्तै पुरानो जलेको भवनका अगाडि दाताकै सहयोगमा ब्लक निर्माण गरी प्रहरीले सेवा थालेको थियो ।
पुरानो दुईवटा ब्लक पनि पुनर्निर्माण सम्पन्न भएपछि अब प्रहरी उक्त क्षेत्रमा नियमित ड्युटीमा परिचालित हुने नेपाल प्रहरीले जनाएको छ । हाल यहाँ हिरासत कक्ष पनि व्यवस्थित पारिएको छ ।