नेपालले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबिच बिहीबार भएको युद्ध टुंग्याउने १४ बुँदे इस्लामाबाद समझदारीपत्रको स्वागत गरेको छ । दुई देशबिच हस्ताक्षरित समझदारीपत्रलाई ‘संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबिचको इस्लामाबाद समझदारीपत्र’ भनिएको छ ।
इस्लामाबाद समझदारीपत्रको हार्दिक स्वागत गर्दै परराष्ट्र मन्त्रालयले नेपालले गत ८ अप्रिलमा घोषणा गरिएको युद्धविरामलाई स्वागत गरेको स्मरण गराएको छ । ‘संयुक्त राज्य अमेरिका तथा इरानका राष्ट्रपतिहरूद्वारा संयुक्त राज्य अमेरिका–इरान शान्ति सम्झौतामा हस्ताक्षर भई कूटनीतिक प्रयासहरूको सफल निष्कर्षमा पुगेको देख्न पाउँदा नेपाल उत्साहित भएको छ,’ परराष्ट्रले भनेको छ ।
नेपालले द्वन्द्व प्रारम्भ भएदेखि नै पश्चिम एसियाका घटनाक्रमलाई नजिकबाट अनुगमन गर्दै आएको उल्लेख गर्दै परराष्ट्रले द्वन्द्वबाट नेपालसहित विश्व अर्थतन्त्रमा दूरगामी प्रभाव पारेको उल्लेख गरेको छ । ‘नेपाललाई विश्वास छ कि यो शान्ति सम्झौताले पश्चिम एसियामा दिगो शान्ति र स्थायित्व स्थापना गर्न योगदान पुर्याउनेछ तथा द्वन्द्वका कारण प्रभावित समुद्री यातायात तथा नौवहन गतिविधिहरूको सामान्यीकरणमा समेत सहयोग पुर्याउनेछ,’ परराष्ट्रले भनेको छ ।
परराष्ट्रले मध्यस्थकर्तासहित सबैको योगदानको प्रशंसा गरेको छ । ‘नेपाल यस प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने देशहरूको महत्त्वपूर्ण योगदानप्रति गहिरो प्रशंसा व्यक्त गर्दछ,’ परराष्ट्रले भनेको छ, ‘साथै, क्षेत्रीय तथा विश्वव्यापी शान्ति, स्थायित्व र सुरक्षा प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायद्वारा गरिँदै आएका सम्पूर्ण प्रयासहरूप्रति नेपाल पुनः समर्थन व्यक्त गर्दछ ।’