सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुवास तामाङ समग्रमा १५–अन्डर २०१ सहित शीर्षस्थानमा उक्लिएका छन्।
बिहीबार सुवासले ७–अन्डर ६५ को स्कोरसहित लगातार दुई दिनका लिडर भुवन नगरकोटीलाई १ स्ट्रोकले पछि पारे। भुवन आज १–अन्डर ७१ खेल्दा समग्रमा १४–अन्डर २०२ सहित दोस्रो स्थानमा झरेका छन्।
शुक्रबहादुर राई र एमेच्योर सदभाव आचार्य समग्रमा १२–अन्डर २०४ सहित संयुक्त रुपमा तेस्रो स्थानमा रहे। शुक्रले ४–अन्डर ६८ र सदभावले १–अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए।
साबिक विजेता राहुल विश्वकर्मा समग्रमा १०–अन्डर २०६ सहित पाँचौं स्थानमा छन्। उनले आज ४–अन्डर ६८ को स्कोर कार्ड तयार पारे। एमेच्योर तेन्जिङ छिरिङ समग्रमा ७–अन्डर २०९ सहित छैटौं स्थानमा छन्। उनले आज २–अन्डर ७० मा खेल सकाए।
समग्रमा ५–अन्डर २११ सहित एमेच्योर वाङचेन ढोन्डुप सातौं स्थानमा रहे। उनले २–अन्डर ७० खेले। १–अन्डर ७१ सहित समग्रमा २–अन्डर २१४ स्कोरका साथ दिनेश प्रजापति आठौं स्थानमा छन्। समग्रमा १–अन्डर २१५ स्कोर बनाएका निरज तामाङ र सञ्जय लामा संयुक्तरुपमा नवौं स्थानमा छन्। निरजले १–अन्डर ७१ खेल्दा सञ्जयले १–ओभर ७३ मा खेल सकाए।
सुवासले बोगीरहित ७–अन्डरको उत्कृष्ट स्कोर बनाउने क्रममा फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। उनले पहिलो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि ११औं, १२औं र १७औं होलमा एक–एक सट बचाउँदा ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे।