अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिङ्टन डिसी मेट्रो च्याप्टरद्वारा आयोजित आमाका कथाहरूमा विमर्श कार्यक्रम सम्पन्न भएको छ। अनेसास डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आमा पुस्ताकी ज्येष्ठ महिला देवकी घिमिरेको प्रमुख आतिथ्यता थियो।
च्याप्टरका महासचिव जगन्नाथ पौडेलद्वारा सञ्चालित कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार होमनाथ सुवेदी, डा. कविता घिमिरे, प्राडा विष्णु घिमिरे, श्याम केसी, मञ्जु थापा, प्रेमचन्द्र ढुंगानालगायतका वक्ताहरूले ‘छोरीले जन्माएका आमाहरू’ नामक कृतिमाथि आफ्ना विचार राखेका थिए।
कार्यक्रममा मातृत्व, आमाको त्याग, ममता, संघर्ष तथा नेपाली साहित्यमा आमाको उपस्थितिलाई केन्द्रमा राखेर विविध सिर्जना, अनुभव र विचारहरूको अर्थपूर्ण आदानप्रदान गरिएको थियो। कार्यक्रमकी पहिलो वक्ता तथा ‘छोरीले जन्माएका आमाहरू’ कृतिकी कृतिकारमध्येकी एक डा. कविता घिमिरेले कृतिको पृष्ठभूमि र त्यसमा निहित मूल भावबारे प्रस्ट पारिन्।
सो अवसरमा वरिष्ठ साहित्यकार होमनाथ सुवेदीद्वारा रचित तथा प्रा. मोहन सिटौलाद्वारा अंग्रेजीमा अनुवादित ‘नन्दा’ खण्डकाव्यको अंग्रेजी संस्करणको गृह लोकार्पणसमेत गरिएको थियो। कृतिमाथि प्राडा विष्णु घिमिरेले समीक्षात्मक अभिव्यक्ति राखे।