सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि सुरु गरेको निःशुल्क स्वास्थ्य पोर्टलबाट निःशुल्क सेवा लिनेको संख्या एक हजार २०० नाघेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शय्यासम्बन्धी सूचना दिने अनलाइन प्रणाली ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित भएका हुन्।
पोर्टलमा देशभर तत्काल उपलब्ध शय्या संख्या, त्यसको १० प्रतिशतले हुन आउने निःशुल्क शैय्या, हाल प्रयोग भइरहेको निःशुल्क शय्या र बाँकी रहेको निःशुल्क शय्या संख्याको अद्यावधिक जानकारी हुन्छ। मन्त्रालयले पोर्टलमार्फत अस्पतालहरूमा उपलब्ध हुने अन्य सेवाहरूको अद्यावधिक जानकारीसमेत उपलब्ध गराउने तयारी गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधान र कानुनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निःशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताइन्। उनले भनिन्, ‘यसो नगर्दा लक्षित वर्गले अस्पतालले चाहँदा पाउने नत्र निःशुल्क स्वस्थ्य सुविधा नपाउने अवस्था थियो, त्यसैले विपन्न वर्गका पक्षमा स्वास्थ्य पोर्टल सुरु गरेका हौँ।’
स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले १० अस्पतालमा लक्षित वर्गका लागि १० शैय्या अनिवार्य छुट्याइएको हुनुपर्ने, ती शय्यामा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निःशुल्क दिनुपर्ने र निःशुल्क शय्यासम्बन्धी सम्पूर्ण जानकारी निःशुल्क पोर्टल र अस्पतालको सूचना पाटीमा सबैले देख्ने गरी राख्नुपर्ने व्यवस्था गरेको छ।
सरकारले विपन्न वर्षलक्षित पोर्टल लागू गरेपछि अस्पतालको अनुगमनका लागि ६ वटा समिति गठन गरी देशका ११ वटा संघीय अस्पतालमा खटाएको जनाएको छ।