सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’को अनलाइन दर्ता तथा कारोबार प्रणाली सोमबारदेखि सञ्चालनमा आएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको योजनाअन्तर्गत लगानीकर्तालाई थप सहज, छिटो तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले सेवा सञ्लानमा ल्याइएको बताइएको छ ।
योजनामा आबद्ध हुन इच्छुक लगानीकर्ताले अब डिजिटल माध्यमबाट योजनासँग सम्बन्धित विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यस प्रणालीले लगानी प्रक्रियालाई थप सरल, सुरक्षित तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
लगानीकर्ताले योजनाको एकाइ खरिदका लागि आवेदन तथा रकम भुक्तानी, एसआइपीमा दर्ता, एसआइपी किस्ता भुक्तानी, लाभांश पुनः लगानी योजनाजस्ता सुविधा अनलाइनमार्फत नै लिन सक्नेछन् । कार्यालय समय वा भौगोलिक दूरीको सीमाविना जहाँसुकैबाट सहज रूपमा योजनासम्बन्धी सेवा प्राप्त गर्न सकिने बताइएको छ । साथै, लगानी प्रक्रिया थप छिटो, सुरक्षित, पारदर्शी तथा प्रयोगकर्तामैत्री बन्ने अपेक्षा गरिएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले डिजिटल वित्तीय सेवाको विस्तार, लगानीकर्ताको पहुँच अभिवृद्धि तथा पुँजी बजारमा सहभागिता बढाउने आफ्नो रणनीतिअनुरूप यो प्रणाली सञ्चालनमा ल्याएको हो । कम्पनीले आगामी दिनहरूमा समेत प्रविधिमार्फत लगानीकर्तालाई थप नवीन, सहज तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यो सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी हो ।