रेमिट्यान्सको पर्यायवाची बनेको ‘आइएमई’ले स्थापनाको २६औँ वार्षिकोत्सव शुक्रबार मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरकम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको छ । साथै, लामो समयदेखि कम्पनीमा आबद्ध कर्मचारीलाई विशेष सम्मानसमेत गरिएको जनाइएको छ । सोही अवसरमा आइएमईको नयाँ लोगोसमेत सार्वजनिक गरिएको छ । नयाँ लोगोले आइएमईका विस्तारित वित्तीय सेवालाई प्रतिनिधित्व गर्ने जनाइएको छ ।
कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै डिजिटल इनोभेसनमार्फत एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ संकल्पित रहेको बताए । उनले वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिट्यान्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंग बन्न सफल भएको समेत स्मरण गरे ।
त्यसैगरी, आइएमईका संस्थापक तथा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षको यात्रामा ‘रेमिट भनेकै आइएमई’ र ‘आइएमई भनेकै रेमिट’ भन्ने पहिचान स्थापित हुनु गर्वको विषय भएको बताए । उनले रेमिट्यान्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन योगदान गर्ने तथा प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सरकारसँग निरन्तर सहकार्य गर्ने विश्वास दिलाए ।
त्यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य–मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमईले सेवा प्रवाह गरिरहेको बताए ।