कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन सञ्चालनमा

कर्णालीको भोल्टेज समस्या समाधान हुने

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

 नेपाल विद्युत् प्राधिकरणको कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारणलाइन पुनः सञ्चालनमा आएको छ । प्रसारणलाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुने अपेक्षा गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

२३ वैशाखमा राति आएको विनाशकारी हावाहुरीका कारण बाँके जिल्लाको बैजनाथ गाउँपालिका– १, चिसापानीस्थित बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने श्रीकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रहेको प्रसारणलाइनको टावर नं ४४ र ४५ मा क्षति पुगेपछि उक्त लाइनमार्फत हुने विद्युत् प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको थियो । हावाहुरीका कारण करिब ३० मिटर लामो सालको ठुलो रुख ढलेर टावर तथा कन्डक्टरमा क्षति पुगेको थियो । क्षतिग्रस्त संरचनाको निर्माण तथा मर्मतकार्य सम्पन्न भएपछि आइतबार दिउँसोबाट उक्त एक सय ३२ केभी प्रसारणलाइन पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार एक सय ३२ केभी प्रसारणलाइन सञ्चालनमा आएसँगै सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु तथा रुकुम पश्चिमलगायत जिल्लामा राष्ट्रिय ग्रिडमार्फत थप गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति हुने अपेक्षा गरिएको छ । यसैगरी, कर्णाली क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा प्रभावकारी रूपमा आबद्ध हुने भएकाले सो क्षेत्रका साथै बाँके र बर्दियाको विद्युत् सेवाको गुणस्तरमा सुधार हुनेछ ।

सुझावित समाचार