बुद्धभूमि नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पर्यटन विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष ०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। नगरपालिकाको हनुमान चोकस्थित सभाहलमा आयोजित नगर सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
नगर प्रमुख केशवकुमार श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रोजगार, कृषि, सूचना प्रविधि, सामाजिक सुरक्षा तथा सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताए। ‘खुसी नगरवासी : समृद्ध बुद्धभूमि’ भन्ने मूल नारासहित उनले गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सुविधा सुनिश्चित गर्न शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताए।
श्रेष्ठले नगरका गौरव योजना तथा अधुरा योजनालाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्दै बुद्धि–तौलिहवा सडकलाई यसै वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। वैदेशिक रोजगारीमा रहेका युवा तथा तिनका परिवारलाई लक्षित गरी ‘सामी र के हामी’ कार्यक्रममार्फत सिप, परामर्श तथा सहयोग उपलब्ध गराइने उनले बताए।
बजारको मागअनुसार सूचना तथा सञ्चार प्रविधिमा आधारित तालिम सञ्चालन गरी युवालाई स्वदेशमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना गर्ने नीति लिइएको छ। कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्न मासिक रूपमा कृषिबाली तथा पशु स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिने, माटोको गुणस्तर सुधारका लागि प्रांगारिक तथा कम्पोस्ट मल प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइने तथा कृषि प्रविधिको अधिकतम उपयोग गरिने जनाइएको छ।
नगरपालिकाले राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई सहज बनाउन आवश्यक सेवा कार्यालय स्थापना तथा सञ्चालन गर्ने नीति पनि अघि सारेको छ। साथै अपांगता भएका व्यक्ति, अति अशक्त बिरामी तथा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाइने कार्यक्रम समेटिएको छ।
नीति तथा कार्यक्रमले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सुशासन तथा नागरिकमैत्री सेवा प्रवाहमार्फत समृद्ध बुद्धभूमि निर्माणको लक्ष्य अघि बढाएको नगरपालिकाले जनाएको छ।
नगर सभामा नगर उपप्रमुख मीरा चौधरीले बुद्धभूमि नगरपालिकाको विनियोजन ऐन, २०८३ प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ५२ लाख ३६ हजार रुपैयाँको बजेट पेस गरिन्। साथै उनले न्यायिक समितिको प्रतिवेदन, आर्थिक ऐन, २०८३ तथा नगर दररेट, २०८३ सम्बन्धी विधेयक पनि प्रस्तुत गरिन्।
त्यसैगरी विभिन्न विषयगत समितिका संयोजकहरूले आ–आफ्ना समितिका प्रतिवेदन प्रस्तुत गरेका थिए। आर्थिक विकास समितिका संयोजक तथा वडाध्यक्ष प्रमोद आचार्य, सार्वजनिक सेवा तथा क्षमता विकास तथा सुशासन समितिका संयोजक कपिलदेव तिवारी, पूर्वाधार विकास समितिका संयोजक तेजबहादुर बस्नेत तथा वन, वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक रोमबहादुर थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए।
विधान समितिको प्रतिवेदन समितिका संयोजक सन्दीपकुमार पाण्डेले प्रस्तुत गरेका थिए भने आर्थिक वर्ष ०८२/८३ को लेखा समितिको प्रतिवेदन वडाध्यक्ष गोविन्द आचार्यले प्रस्तुत गरेका थिए।