नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि स्थापना भएको कांग्रेस पार्टीभित्र नै निरंकुशता सुरु भएको बताएका छन्।
आइतबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय इतर पक्षीय भेलामा कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै बिपीले लिएका राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता झनै बढेको जिकिर गरे।
कोइरालाले भने, ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन नेपालका सबै शक्तिका बिचमा सहकार्य र एकता जरुरी छ।’
सभापति गगन थापाले कुराकानीका क्रममा आफूले राखेका पाँचवटा विषय स्विकारेको बताउँदै उनले प्रश्न गरे, ‘सहमति गर्न अहिले के कुराले रोक्यो?’ सभापति थापाले कोइरालानिवास पुगेर अन्य साथीहरूलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफूले राखेका ५ बुँदा सार्वजनिक गरेको उनले स्पष्टीकरण दिए।
सहमतिविना कांग्रेस एक कदम अगाडि बढ्न नसक्ने भन्दै उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुभएको सहमति, सहकार्य र एकताबाटै हामी हिँड्नुपर्छ। त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट सुरु गर्नुपर्छ।’