राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले कैलालीमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनलाई बदर गरेको छ। आयोगले निर्वाचनको सबै परिणामलाई बदर गर्दै नयाँ कार्यसमिति चयनका लागि पुनः निर्वाचन गराउने निर्णय गरेको हो।
गत २४ जेठमा भएको निर्वाचनबाट कवीन्द्र ठगुन्नाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गरिएको थियो। जिल्ला सभापतिका उम्मेदवारद्वय हरि रेग्मी र महेश चौधरीले भने प्रतिनिधि यकिन नगरी र विधानविपरीत निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै निर्वाचन बहिष्कार गरेका थिए।
निर्वाचन अधिकृत नै नतोकेर निर्वाचन गरिएको दुवै उम्मेदवारको आरोप थियो। उनीहरूले पार्टी विधानविपरीत निर्वाचन गरिएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका थिए। रास्वपाको निर्वाचन आयोगले प्राप्त तथ्यांक र सप्रमाण उजुरीका आधारमा निर्वाचनको न्यूनतम आधारभूत प्रक्रिया पालना नभएको देखिएको जनाएको छ।
उक्त निर्वाचन प्रक्रियाप्रति कैलालीबाट निर्वाचित रास्वपा सांसदहरूको असहमतिका बाबजुद अवैधानिक ढंगले विधान तथा कार्यविधिविपरीत निर्वाचन गराएको आयोगले ठहर गरेको छ। आयोगले कैलाली जिल्ला समिति र निर्वाचन समितिलाई पठाएको पत्रमा मतदान र मतगणनाको स्थापित नियम तथा निर्वाचन कार्यविधिको उल्लंघन भएको, अधिकांश मुख्य उम्मेदवारले निर्वाचन प्रक्रियाप्रति लिखित असहमति जनाउँदै प्रक्रिया बहिष्कार गरेको तथा कतिपय योग्य सदस्य र प्रतिनिधिको सहभागिता सुनिश्चित नभएको देखिएको जनाएको छ।
कैलाली जिल्ला अधिवेशनका क्रममा भएका गैरप्रक्रियागत र विधानविपरीतका कार्यहरूले निर्वाचनको निष्पक्षता र वैधता खण्डित भएको ठहर रास्वपाको केन्द्रीय निर्वाचन आयोगले गरेको छ। ‘केन्द्रीय निर्वाचन आयोगको आज बसेको बैठकले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित भएका सम्पूर्ण परिणामहरूलाई पूर्ण रूपमा बदर–रद्द गर्ने निर्णय गरेको छ,’ आयोगका प्रमुख भुवन केसीले आइतबार पठाएको पत्रमा भनिएको छ।
कैलालीमा पुनः निष्पक्ष, पारदर्शी र विधिपूर्वक निर्वाचन सम्पन्न गराउन आयोगले छिट्टै नयाँ कार्यतालिका र केन्द्रीय प्रतिनिधिको टोली खटाउने पत्रमा उल्लेख गरिएको छ।