काठमाडौं महानगरपालिकाले मनसुन पूर्वतयारी र प्रतिकार्य योजना स्वीकृत गरेको छ । कार्यवाहक प्रमुख एवं महानगर विपत् व्यवस्थापन समितिका संयोजक सुनीता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस वर्ष जेठ १८ गतेदेखि असोज १४ गतेसम्म वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार मानेर कार्ययोजना स्वीकृत गरेको हो ।
महानगरपालिकाका निर्देशक वसन्त आचार्यको अध्यक्षतामा गठित योजना तर्जुमा कार्यदलले तयार पारेको सम्भावित डुबान क्षेत्रको पहिचान र नक्सांकनका आधारमा कार्ययोजना बनाइएको हो ।
स्वीकृत कार्ययोजना कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित विभाग र जिम्मेवार तोकिएका अधिकारीहरूको तदरुकता अबको आवश्यकता हो । बैठकमा समितिका संयोजक डंगोलले भनिन्, ‘राम्रो कार्ययोजना कार्यान्वयन गर्न निरन्तर अभ्यास, स्पष्ट कार्य विभाजन, तोकिएका स्थानमा तोकिएका सामानको उपलब्धता, ती सामानमा सम्बन्धित अधिकारी वा समुदायको पहुँच सुनिश्चित गर्नु ।’ उनले विपत् व्यवस्थापन विभाग र कार्ययोजनामा जिम्मेवारी प्रदान गरिएका अधिकारीलाई भनिन्, ‘कार्ययोजनाको नतिजा विपत् व्यवस्थापनबाट मूल्यांकन हुनेछ ।’
उनले सम्भावित डुबानको जोखिम घटाउन पूर्वाधार, सरसफाइजस्ता तयारी नियमित सञ्चालन गर्न, समन्वय र सहकार्यको प्रणाली कार्यान्वयन योग्य बनाउन, विपतका समयमा ठेगाना प्रणालीका कारण अलमल नहुने अवस्था निर्माण गर्न विभागलाई निर्देशन दिएकी छिन् ।
कार्यदलले महानगरपालिकाभित्र १२८ ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ । यसबाट करिब आठ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान छ । विपत् व्यवस्थापन विभागका प्रमुख एवं समितिका सदस्य सचिव अनिरुद्र नेपालका अनुसार बागमती, विष्णुमतीको दोभानबाट तल्लो भेगमा पर्ने वडा नं. १४ सबैभन्दा बढी जोखिममा देखिन्छ । डुबानबाट कतै धेरै स्थान र कतै धेरै परिवार प्रभावित हुने देखिन्छ । नेपाल भन्छन्, ‘वडा १४ सँगै वडा नं. १३, १५, २९, १०, १६, २६, ३२, १२ बढी जोखिममा देखिन्छन् । डुबान हुने ठाउँका आधारमा वडा नंं. ३० मा २१ ठाउँ, वडा नं. ४ र वडा नं. ३२ मा १०–१० ठाउँमा डुबानको जोखिम देखिन्छ ।’
प्रभावका दृष्टिले वडा नंं. १६ सबैभन्दा धेरै प्रभावित देखिन्छ । सामाखुशी, विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब एक हजार ६ सय परिवार प्रभावित हुने देखिन्छ । वडा नं. २६ मा एक हजार २५५ घरधुरी, ६ ठाउँमा डुबान हुने स्थान पहिचान गरिएको वडा नं. ३ मा ९५० परिवार प्रभावित, १० ठाउँ डुबानमा पर्ने वडा नं. ४ मा ९५५ घरधुरी प्रभावित हुने देखिएको छ ।
यही अवस्थाका आधारमा निर्माण गरिएको पूर्वतयारी कार्ययोजनामा वडास्तरीय विपत् व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवालगायत आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र अधिकारीका टेलिफोन नम्बरहरू राखिएका छन् । स्रोत र उपकरणहरूको विवरण उल्लेख गरिएको छ ।
जोखिम घटाउन, घटना भए उद्धार, राहत, व्यवस्थापन तथा पुनर्लाभका लागि महानगरपालिकाका ११ वटा विभागका जिम्मेवारी कार्ययोजनामा तोकिएका छन् । विपतका समयमा प्रयोग गर्न सकिने ५१ वटा पार्क, २८ वटा खुला क्षेत्र र ८७ वटा विद्यालय पहिचान गरिएका छन् ।
गत वर्षहरूको अविरल वर्षाका कारण सहरी जीवनमा उत्पन्न भएको बाढी र डुबानजन्य जोखिम फेरि नदोहोरियोस् भन्नेमा सचेत भएर महानगरपालिकाले जोखिम न्यूनीकरणका लागि नदी सरसफाइ, डुबान समाधानजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । नदी तथा नदी किनारा, ढल प्रणाली, सतह ढल प्रणाली, सडक किनारामा भएका स्ल्याब, ह्युमपाइप, क्याचपिट र मेल होल खोलेर त्यहाँ जम्मा भएको फोहाेर निकाल्ने कामका लागि दैनिक ३० जना जनशक्तिले काम गरिरहेका छन् । ढलमा भएको अवरोध हटाएर ढल र सतह पानीको प्रवाहलाई नियमित गर्नु कार्यक्रमको मुख्य क्रियाकलाप हो । ढलको जल प्रवाहमा अवरोध हटेपछि सम्भावित डुबान र बाढीको जोखिम कम हुनेछ ।