२१.९ प्रतिशत बिजुली निःशुल्क नेपाललाई दिनुपर्ने भएपछि तीन ठुला जलविद्युत् आयोजनाबाट भारतीय कम्पनी नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी)ले हात झिक्ने भएको छ । एनएचपिसी ८०० मेगावाटको पश्चिम सेती, ४५० मेगावाटको एसआर– ६ र ४८० मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको हो ।
बरु निर्माणका लागि खुला प्रतिस्पर्धाबाट आउने मनसायमा उक्त कम्पनी पुगेको छ । सम्भावित नोक्सानीलाई अन्य सहुलियतबाट सम्बोधन गर्न सकेको अवस्थामा कम्पनीले यसलाई निरन्तरता दिन सक्ने सम्भावना पनि छ । सम्भाव्य पूर्ति लगानी (भिजिएफ), कर, रोयल्टीलगायत विषयमा सहुलियत दिएमा भने एनएचपिसी अघि बढ्न भने सक्ने नेपाली अधिकारीहरूको भनाइ छ ।
९०० मेगावाटको अरुण तेस्रोबाट पनि भारतीय कम्पनी सतलज जलविद्युत् निगमले २१.९ प्रतिशत विद्युत् नेपाललाई निःशुल्क दिँदै छ । यसैगरी, जिएमआरले पनि ९०० मेगावाटको माथिल्लो कर्णालीबाट नेपाललाई १२ प्रतिशत निःशुल्क र २७ प्रतिशत फ्री इक्युटी दिँदै छ । तर, ती दुई आयोजनामा त्यही कारण परियोजना आर्थिक रूपमा नै बलियो नहुने अवस्था बनेन । तर, एनएचपिसीले भने यी परियोजनामा निःशुल्क विद्युत् दिँदा घाटा हुने दाबी गरेको छ ।
यसमा लगानी बोर्डका अधिकारीहरू पनि सहमत छन् । ‘माथिल्लो कर्णाली र अरुण तेस्रोमा नदीको प्रवाह राम्रो छ । हेडवर्क्स पनि राम्रो छ । डिजाइन डिस्चार्ज पनि राम्रो छ । त्यसले गर्दा कम लागतमा धेरै विद्युत् उत्पादन गर्न सकियो,’ बोर्डका एक अधिकारीले भने, ‘एनएचपिसीले लिएका परियोजनाको हकमा भने अवस्था फरक छ । पश्चिम सेती र सेती नदी ६ का लागि प्रसारण लाइन नै धेरै लामो बनाउनुपर्छ । भौगोलिक अवस्थामा पनि कठिन छ । नदीमा पानी प्रवाह राम्रो छैन । डिजाइन डिस्चार्ज पनि कमजोर छ । यसैगरी, बाटो पनि धेरै बनाउनुपर्ने देखिएको छ । त्यसले गर्दा यी परियोजनामा लागत उच्च छ ।’
लगानी बोर्डकी प्रवक्ता सुनीता नेपालले पश्चिम सेती र सेती नदी– ६ परियोजनाको विषयमा पछिल्लो समय थप प्रक्रिया अघि नबढेको बताइन् । ‘परियोजना विकास सम्झौता (पिडिए) को मस्यौदा बनाउन निवर्तमान सिइओ (सुशील ज्ञवाली)को संयोजकत्वमा समिति बनेको थियो । अहिले त्यसको जिम्मेवारी निमित्त सिइओ (नवीनराज सिंह)लाई छ । यो समितिको बैठक बस्न बाँकी छ,’ उनले भनिन्, ‘पछिल्लोपटक अर्थ र ऊर्जा मन्त्रालयलगायतका निकायले समितिका लागि प्रतिनिधि तोकिसक्नुभएको छ । सायद, अब छलफल अघि बढ्छ होला । यसबारे थप बुझ्नुपर्छ ।’