कुमारी बैंकले सुरु गर्‍यो इआरपी–एकीकृत डिजिटल कर्जा प्लाटफर्म

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

कुमारी बैंकले नेपालको पहिलो इआरपी (एकीकृत डिजिटल कर्जा प्लाटफर्म) सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले आइएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो । यसअनुसार बैंकले ग्राहकलाई यस नवीन पहलमार्फत आइएमएसको इआरपी सफ्टवेयरमार्फत विनाधितो कर्जा प्रदान गर्ने बताइएको छ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने बैंकको भनाइ छ । यस प्लाटफर्मले कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न गर्ने सुविधा प्रदान गर्नेछ । 

इआरपी प्रणालीसँगको एकीकरणमार्फत बैंकले व्यवसायको बिक्री, कारोबार तथा मौज्दातजस्ता वास्तविक समय डेटाका आधारमा कर्जा योग्यता मूल्यांकन गर्न सक्नेछ । यस डेटामा आधारित प्रणालीले छिटो र सटीक निर्णय लिन सहयोग पुर्याउँदै परम्परागत धितो आवश्यकताविनै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउँछ । इआरपी प्रयोग गर्ने व्यवसायले आफ्नै कार्यसम्पादनका आधारमा पाँच लाखसम्मको चालू पुँजी कर्जा प्राप्त गर्न सक्नेछन्, जसलाई १२ महिनासम्मको समान मासिक किस्तामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको बताइएको छ ।

अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका नौ लाखभन्दा बढी साना तथा मझौला उद्यमलाई लक्षित गर्दै ल्याइएको यस पहलले वित्तीय समावेशीकरणलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ । साथै, यसले उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ ।
 

सुझावित समाचार