तीन दशकको आक्रोश र परिवर्तन

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

राजनीतिक भूकम्प सधैँ कम्पनबाट मात्र सुरु हुँदैन । कहिलेकाहीँ मौनताबाट सुरु हुन्छ । वर्षौंको उपेक्षा, निराशा र अपमान असह्य भएपछि मौनता विस्फोट हुन्छ । २०८२ साल फागुन २१ गते नेपालमा ठिक यस्तै भयो । लाखौँ नेपाली नागरिकले मतपत्रमा आक्रोश, आशा, र आफ्नो भविष्यका लागि मार्गचित्र कोरे । र त्यो दिन साढे तीन दशकभन्दा लामो पुरानो राजनीतिक व्यवस्था ढल्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जित्यो । नेपाली कांग्रेस ३८ सिटमा, एमाले २५ मा, र नेकपालगायत दलहरू झन् न्यून सिटमा झरे ।

यो घटनाक्रमलाई बुझ्न, दस्तावेजीकरण गर्न, र भावी पुस्ताका लागि सुरक्षित राख्न त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक एवम् ३५ वर्षभन्दा बढी राजनीतिक विश्लेषण गर्दै आएका प्रा. दीपककुमार गजुरेलले लेखेको पुस्तक ‘नेपाल्स पोलिटिकल अर्थक्वेक : चेन्जिङ पोलिटिकल ल्यान्डस्केप एन्ड द राइज अफ न्यु अर्डर’ नेपालको राजनीतिक इतिहासको अपरिहार्य अभिलेख हो । यो पुस्तक तेह्र अध्याय, तीनवटा परिशिष्ट र सयौँ सन्दर्भग्रन्थसहित ५८८ पृष्ठको छ ।

पुस्तकको पहिलो अध्याय नेपालको राजनीतिक इतिहासको सबैभन्दा गहन विवेचनाहरूमध्ये एक हो । प्रा. गजुरेल पृथ्वीनारायण शाहको सन् १७४३ देखि सुरु भएको एकीकरण अभियानबाट लेखनी सुरु गर्छन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशको सन्दर्भ उल्लेख गर्दै लेखकले ‘दुई ढुंगाबिचको तरुल’ भन्ने भूराजनीतिक पहिचान नेपालको विदेश नीतिको यथार्थ हो, उत्तरमा चिनियाँ साम्राज्य र दक्षिणमा ब्रिटिस भारतको विस्तारवादी शक्तिबिचको सन्तुलन दर्साउने विषय मान्दछन् । 

दोस्रो अध्याय पुस्तकको सबैभन्दा शक्तिशाली खण्डहरूमध्ये एक हो । यसमा सन् १९९० को जनआन्दोलनले पञ्चायतको अन्त्य गरेपछिका पैँतीस वर्षको बहुदलीय शासनको तथ्यांकमा आधारित मूल्यांकन गरिएको छ । सन् १९९० देखि २०२५ सम्म नेपालमा ३५ वर्षमा ३० भन्दा बढी सरकार बने । एउटा सरकारको औसत आयु एक वर्षभन्दा पनि कम, र एउटा पनि सरकारले पूर्ण संवैधानिक कार्यकाल पूरा गरेन । आर्थिक क्षेत्रमा, नेपालको वार्षिक आर्थिक वृद्धि औसत ४.५ प्रतिशत रह्यो । रेमिट्यान्सको हिस्सा कूल गार्हस्थ्य उत्पादनको २६ प्रतिशतभन्दा माथि पुग्यो । प्रा. गजुरेल यो तथ्यांकको व्याख्या गर्छन्,‘यो समृद्धिको संकेत होइन, उत्पादनशील रोजगारी सिर्जनामा ३५ वर्षको असफलताको प्रमाण हो । कतारको गगनचुम्बी भवन बनाउने, साउदी अरेबियाको पूर्वाधार निर्माण गर्ने ती नेपाली युवाहरू ३५ वर्षको शासकीय विफलताको जीवन्त सूचकांक हुन् ।’

जेन–जी आन्दोलनको विस्तृत दस्तावेजीकरणका रूपमा रहेको तेस्रो अध्याय यो कृतिको मूल अंश हो । भाद्र २३ को प्रदर्शनको भोलिपल्ट २४ गते भयानक नागरिक विस्फोट भयो जसका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । यही डिस्कर्ड सर्भरमा ‘डिजिटल संसद्’ चल्यो, जसमा १० हजारभन्दा बढी सदस्यले विचार–विमर्श गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्यो । नेपालले इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री पायो । यी अशान्त दिनमा ७६ युवाले जीवन गुमाए ।

प्रा. गजुरेलले यो आन्दोलनको तुलनात्मक सन्दर्भ पनि उल्लेख गरेका छन् । ‘नेपोबेबी’ ह्यासट्यागको उत्पत्ति फिलिपिन्समा भएको थियो, त्यहाँबाट बंगलादेश हुँदै नेपाल आइपुग्यो । जापानी ‘वान पिस’ को ‘स्ट्र हेट जोली रोजर’ झण्डा लिएर माइतीघर मण्डलमा उभिएका प्रदर्शनकारी विश्वव्यापी जेन–जी एकतामा सहभागी थिए । यो दक्षिण एसियाली युवा विद्रोहको तेस्रो लहर थियो, श्रीलंकाको अरागलया (२०२२) र बंलादेशको जुलाई क्रान्ति (२०२४) पछि ।

पुस्तकको पाँचौँ अध्यायमा प्रा. गजुरेल चुनावी भूकम्प किन आयो भन्ने प्रश्नको उत्तर विभिन्न कोणबाट दिन्छन् । बालेन्द्र शाहको उम्मेदवारी सबैभन्दा निर्णायक रणनीतिक कदम थियो । आठौँ अध्यायमा उनी रास्वपा सरकारका अगाडि रहेका संरचनागत चुनौतीहरूको निष्पक्ष विवेचना गर्छन् : शासकीय अनुभवको अभाव, नागरिक अपेक्षाको विशाल भार, कर्मचारी र प्रणालीबाट आउने प्रतिरोध, आर्थिक र बजेट बाधाहरू, र पुराना दलका सञ्जालहरूको सक्रिय प्रतिरोध । 

अमेजोन डट कमले प्रकाशित गरेको यो पुस्तक राजनीतिशास्त्रका विद्यार्थी, पत्रकार, नीति–निर्माता, कूटनीतिज्ञ र नेपालको प्रजातान्त्रिक भविष्यमा रुचि राख्नेका लागि अत्यावश्यक पठन सामग्री हो । इतिहास, अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिको त्रिभुजीय विश्लेषणमा आधारित यो कृति नेपालको राजनीतिशास्त्र साहित्यमा एउटा महत्वपूर्ण सन्दर्भग्रन्थ बन्ने निश्चित छ ।

See More On

सुझावित समाचार