विश्वकप २०२६ : पहिलो जितको खोजीमा क्यानडा

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

सहआयोजकका रूपमा स्वतः विश्वकपमा छनोट भएको क्यानडा घरेलु मैदानमा पहिलो जितको प्रयासमा हुनेछ । क्यानडाले बोस्निया एन्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीले पहिलोपटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा उनीहरूबिच पहिलो खेल हुनेछ ।

टोरेन्टाको रंगशालामा लगभग ४० हजार समर्थकमाझ क्यानडाले ३ अंकका लागि प्रतिस्पर्धा गर्ने ५२ वर्षीय प्रशिक्षक जेसी मार्चले बताएका छन् । ‘हाम्रो प्रयास समर्थकलाई खुसी दिलाउनुका साथै ३ अंक बटुल्ने हो,’ जेसीले भने । अमेरिकी पूर्वमिडफिल्डर जेसी आफ्नो समूह ‘बी’मा कतार र स्विट्जरल्यान्डजस्ता कडा प्रतिद्वन्द्वी रहेको बताउँछन् । चार वर्षअघि कतारमा भएको विश्वकपमा क्यानडा आफ्नो समूहको पुछारमा रहँदै घर फर्केको थियो । 

अल्फान्सो डेभिसले क्रोएसियाविरुद्ध एक गोल गरेका थिए । जुन फिफा विश्वकप इतिहासमा क्यानडाको पहिलो गोल थियो । यसपटक क्यानडाको मुख्य हतियार नै बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेल्ने डिफेन्डर अल्फान्सो डेभिस हुन् । उनीबाहेक फुलहामका लुक डी फुगेरोल्स, नर्विच सिटीका अली अहमद, युभेन्ट्सका जोनाथन डेविड र भिल्लारियलबाट खेलिरहेका टोनी ओलुवासेयी क्यानडाका प्रमुख खेलाडीमा पर्छन् । 

इटालीलाई स्तब्ध पारेको बोस्निया
चारपटकको विश्व च्याम्पियन इटालीलाई युरोपियन प्लेअफमा स्तब्ध बनाएर बोस्नियाले विश्वकपमा टिकट पक्का गरेको हो । युरोपियन छनोट र प्लेअफमा उत्कृष्ट प्रदर्शन गरेको बोस्नियाको मनोबल उच्च छ । 

बोस्नियाले क्यानडापछि स्विट्जरल्यान्ड र कतारसँग खेल्दै छ । प्रशिक्षक सर्गेज बार्बारेजले विश्वकपमा जितको खोजीमा हुने बताए । बोस्नियामा स्ट्राइकर इडेन जेको छन् । ४० वर्षीय स्ट्राइकर इडेनसँगै म्यानचेस्टर सिटी, रोमा र इन्टरमिलानबाट व्यावसायिक फुटबल खेलिरहेका खेलाडी बोस्नियामा छन् । क्यानडा र बोस्नियामा युरोपियन बेसमा प्रतिस्पर्धा गरिरहेका खेलाडी रहँदा प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा छ । 

बोस्नियाले यसपटक नकआउट चरणसम्मको यात्रा गर्ने दाबी गरेको छ । जेकोसँगै मिडफिल्डर इभान बेसिक, अमार मेमिक, बेन्जामिन ताहिरोभिक र स्ट्राइकर हरिस टाबाकोभिक, जोभो लुकीजस्ता खेलाडी छन् । बोस्नियाको यो दोस्रो विश्वकप हो । यसअघि टोलीले सन् २०१४ को विश्वकपमा पहिलोपटक सहभागिता जनाएको थियो । त्यतिखेर टोली समूह चरणबाटै बाहिरिएको थियो । फिफा विश्व वरीयताको ६६औँ स्थानमा रहेको बोस्नियाले क्यानडालाई कडा चुनौती दिने अपेक्षा छ । 

प्लेयर्स टु वााच
इडेन जेको (बोस्निया एन्ड हर्जगोभिना)

क्यानडाविरुद्धको खेलमा सबैका ध्यान बोस्नियाका स्ट्राइकर इडेन जेकोमाथि हुनेछ । इंग्लिस क्लब म्याचेस्टर सिटीमा चार वर्ष, इटालियन क्लब रोमामा ६ वर्ष र इन्टर मिलानबाट खेलेको अनुभव उनीसँग छ । व्यावसायिक फुटबलका अनुभवी खेलाडी जेको ठुलो प्रतियोगितामा अब्बल देखिन्छन् । जेकोले सन् २००७ देखि राष्ट्रिय टोलीबाट १४८ खेल खेलिसकेका छन् । जेकोले बोस्नियाको फिनिसिङ सम्हाल्दा उनलाई क्यानडाका डिफेन्डर अल्फान्सो डेविजले रोक्ने प्रयास गर्नेछन् । अल्फान्सोजस्ता विश्वस्तरीय डिफेन्डरलाई बिट गर्नु पनि जेकोका लागि ठुलै चुनौती हुनेछ । 

अल्फान्सो डेविज (क्यानडा) 
फुटबल मैदानको तीनै क्षेत्रमा अल्फान्सो उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । उनी लेफ्ट ब्याक, विंगर र विङ ब्याकमा राम्रा खेलाडीमा पर्छन् । २५ वर्षीय अल्फान्सो युरोपेली फुटबलमा निकै रुचाइएका छन् । बोस्नियाविरुद्ध उनले उत्कृष्ट नतिजाको आशा गरेका छन् । उनले सात वर्षदेखि जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिखबाट खेलिरहेका छन् । घानामा जन्मिएका उनले क्यानडाबाट ५८ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उमेर समूहमा यू–१७ र यू–२० हुँदै उनले क्यानडाको राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । बोस्नियाको फिनिसिङलाई रोक्न सक्ने क्षमता अल्फान्सोसँग छ । यति मात्र नभएर आवश्यकताअनुसार उनी मिडफिल्डमा पनि जम्न सक्छन् । 

सुझावित समाचार