हेटौँडाको सक्रिय साहित्यिक संस्था साहित्य संगमको आयोजनामा अमेरिकालाई कर्मभूमि बनाएका बहुविधाका सक्रिय लेखक गोविन्द गिरी प्रेरणाको लामा कथाहरूको दोस्राे संग्रह ‘अ–विधवा’को परिचर्चा तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आर पी गुरागाईं तथा सुवास सजलले ‘अ–विधवा’ कथासंग्रहमाथि पाठकीय धारणा प्रस्तुत गरे । लामो कथा पठन अनुभूति प्रस्तुत गर्दै कथामा यौन मनोविज्ञान र नेपाल तथा अमेरिकाको पृष्ठभूमि आएको बताए । त्यसपछि कथाकार प्रेरणासँग कवि तथा समीक्षक निमेष निखिलले संवाद गरेका थिए ।
निखिलको ‘लामो कथा तथा उपन्यासबिचको भिन्नता’ तथा ‘प्रायः कथामा देखापर्ने यौनमनोविज्ञान’का बारेमा प्रश्न गरेका थिए । कथाकार प्रेरणाले लामो कथाबारे आफ्नो धारणा प्रस्तुत गर्दै यौन मनोविज्ञान कथामा खोलको रूपमा आउने तथा कथाको अन्तर्यमा जानुपर्ने बताए ।
त्यसअघि साहित्यकार उदय अधिकारीले गोविन्द गिरी प्रेरणासँग लिएको अन्तर्वार्ताको पुस्तक ‘प्रेरणा वार्ता’को विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि आरसी रिजाल, साहित्य संगन मकवानपुरका अध्यक्ष डिबी बर्तौला तथा मञ्चासिन अतिथिहरूले सो पुस्तकको विमोचन गरेका थिए ।
विमोचनपश्चात् अन्तर्वार्ताकार उदय अधिकारीले साहित्यकार प्रेरणाको लेखनका विविध आयाम र लोभलाग्दो सक्रियताले प्रभावित भएर यो अन्तर्वार्ता कृति तयार पारेको बताए । प्रमुख अतिथि आरसी रिजालले गोविन्द गिरी प्रेरणा हेटौँडाको प्रतिभा भन्न पाउँदा गर्व लाग्ने बताए ।