मेटलाइफ फाउन्डेसनद्वारा वृक्षारोपण

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

विश्व वातावरण दिवस २०२६ को अवसरमा मेटलाइफ नेपालले शंखरापुर नगरपालिकाअन्तर्गत पर्ने पताप गाउँमा बृहत् वृक्षारोपण स्वयंसेवी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

काठमाडौंबाट करिब ४५ मिनेटको दूरीमा रहेको पताप गाउँमा आयोजित कार्यक्रममा मेटलाइफ नेपालका करिब ५० जना कर्मचारी तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। उनीहरूले बिपी राजमार्ग तथा शंखरापुर सडक करिडोर आसपास करिब पाँच सयवटा फलफूल, बदाम तथा स्थानीय प्रजातिका बिरुवा रोपेका थिए।

यस पहलले एकल बाली प्रणाली (मोनोकल्चर फार्मिङ)बाट दिगो कृषि–वन प्रणाली (एग्रोफरेस्ट्री)तर्फको रूपान्तरणलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। वातावरण संरक्षणसँगै स्थानीय समुदायका लागि दीर्घकालीन आम्दानीका अवसर सिर्जना गर्ने उद्देश्यले टिमुर, ओखर तथा आरूका बिरुवाहरू छनोट गरी रोपिएका हुन्।

कार्यक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै मेटलाइफ नेपालका प्रतिनिधिले वातावरण संरक्षण तथा समुदाय सशक्तीकरणप्रति संस्थाको प्रतिबद्धता दोहोर्याउँदै यस्ता पहलहरूले दिगो विकासका लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताए।

वृक्षारोपण गरिएका बिरुवाहरूको दीर्घकालीन संरक्षण, हेरचाह तथा अनुगमन सुनिश्चित गर्न FIER ले स्थानीय समुदायसँग निरन्तर सहकार्य गर्ने जनाएको छ। यसमार्फत रोपिएका बिरुवाहरूको सफल वृद्धि र वातावरणीय प्रभावलाई दीर्घकालसम्म कायम राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्दै सम्पन्न गरिएको यो कार्यक्रमले वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।

सुझावित समाचार