महोत्तरी प्रहरीले झन्डै तीन लाख नेपाली रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जलेश्वर नगरपालिका–६ निवासी ५५ वर्षीय अरुणकुमार चौधरी सोबराबरको नेपाली र भारतीय रुपैयाँसहित पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयले सोमबार दिउँसो जलेश्वर नगरपालिका–३, मलिबारा बजारस्थित भिठ्ठामोड–जनकपुर सडक खण्डमा नियमित चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका चौधरीमाथि खानतलासी गरेको थियो।
उनको साथबाट भारतीय रुपैयाँ १ लाख ११ हजार ३५० र विभिन्न दरका नेपाली रुपैयाँ १ लाख १७ हजार ६५० बरामद भएको छ। प्रहरीले उनको साथबाट एक थान मोबाइल फोन र एउटा साइकल समेत बरामद गरी नियन्त्रणमा लिएको छ।
बरामद रकमको स्रोत खुल्न नसकेको तथा विदेशी मुद्रा अपचलनको आशंकामा चौधरीलाई पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धानपछि उनलाई बरामद नगदसहित कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए।