नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा मंगलबार च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै देशव्यापी सुझाव संकलन गर्ने निर्णय गरेको हो।
पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव संकलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने भएको हो।
कार्यदलले जेठ ३० बागमती प्रदेश, असार २ गते कोशी प्रदेश, ४ गते लुम्बिनी, ६ गते सुदूरपश्चिम, ८ गते कर्णाली, ११ गते गण्डकी र १३ गते मधेश प्रदेशमा कार्यक्रम गर्ने छ। यसैगरी, असार १६ गते राजधानी, १७ गते सम्पर्क समन्वय, १८ गते जनसंगठन र १९ गते विभाग प्रमुख तथा निकायका पदाधिकारीहरूसँग छलफल गर्ने आचार्यले जानकारी दिए।
प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहनेछ। कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्नेछन्।
त्यसैगरी, कार्यदलको सदस्य–सचिवको जिम्मेवारी शंकर पोखरेललाई दिने निर्णय पनि बैठकले गरेको छ।