रास्वपाको प्रदेश अधिवेशन आजदेखि

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर सञ्चालन गरेको जिल्ला अधिवेशनअन्तर्गत हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी छ । रास्वपाले शनिबार र आइतबार गरी दुई चरणमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने आइतबार सुरु भएका २८ जिल्लामध्ये अधिकांशमा नयाँ जिल्ला कार्यसमिति चयन भइसकेको छ ।

रास्वपाका प्रवक्ता मनीष झाका अनुसार कोशी प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने उदयपुरमा निर्वाचनको तयारी भइरहेको छ । मधेश प्रदेशका महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाहीमा निर्वाचन प्रक्रिया अगाडि बढेको छ । सप्तरी र बारामा सोमबार तथा धनुषामा मंगलबार अधिवेशन हुने कार्यक्रम तय गरिएको छ ।

बागमती प्रदेशका काठमाडौंसहित अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । सिन्धुपाल्चोकमा अधिवेशन स्थगित भएको छ । गण्डकी प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सकिएको छ भने बागलुङमा उजुरी परेपछि प्रक्रिया रोकिएको छ । नवलपरासी (पूर्व)मा निर्वाचन जारी रहेको पार्टीले जनाएको छ ।
लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । कर्णाली प्रदेशका केही जिल्लामा निर्वाचन प्रक्रिया जारी रहँदा सुदूरपश्चिमका अधिकांश जिल्लामा अधिवेशन सकिएको र डोटी तथा बाजुरामा निर्वाचन हुन बाँकी रहेको जानकारी दिइएको छ ।

रास्वपाले मंगलबारदेखि प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरेको छ । पहिलो चरणमा बागमती प्रदेशको अधिवेशन मंगलबार हुने तय भएको छ । संगठन विभागका अनुसार बागमतीमा २६ जेठ, कोशीमा २७, मधेशमा २८, गण्डकीमा २९, लुम्बिनीमा ३० जेठ, कर्णालीमा ३१ जेठ र १ असारमा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने कार्यतालिका छ । तल्ला तहका संगठनात्मक संरचनाको अधिवेशन सम्पन्न गरेपछि पार्टी आगामी ७ देखि ९ असारसम्म चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारीमा रास्वपा जुटेको छ । 

अधिकांश जिल्लामा सर्वसम्मति, केहीमा प्रतिस्पर्धात्मक निर्वाचन

राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको पहिलो प्रदेश अधिवेशन मंगलबारदेखि हेटौँडामा सुरु हुँदै छ । दुई दिनसम्म चल्ने अधिवेशनले प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन गर्ने रास्वपाले जनाएको छ । हेटौँडा उपमहानगरपालिका– १ स्थित हिमालयन दरबारमा हुने अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ ।

रास्वपा बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशका १३ जिल्लाबाट छनोट भएका प्रतिनिधिहरूको सहभागितामा हुने अधिवेशनलाई पार्टीको प्रदेशस्तरीय संगठन निर्माण र आगामी राष्ट्रिय महाधिवेशनको तयारीका लागि महŒवपूर्ण अवसरका रूपमा लिइएको उनले बताए । लामिछानेका अनुसार अधिवेशनमा प्रदेशका १३ जिल्लाबाट करिब एक हजार ५०० प्रतिनिधि सहभागी हुनेछन् । जिल्ला, पालिका र वडा तहबाट छनोट भएका प्रतिनिधिहरू हेटौँडा पुग्ने क्रम सुरु भइसकेको छ । लामिछानेका अनुसार प्रदेशका एक हजार १२१ वडामध्ये करिब नौ सय वडामा अधिवेशन सम्पन्न भइसकेको छ । 

रास्वपा मकवानपुरका जिल्ला सभापति सञ्जीव पाठकका अनुसार मंगलबार बिहान ८ बजेदेखि सुरु हुने उद्घाटन सत्रमा सभापति रवि लामिछाने प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । समारोहमा पार्टीका केन्द्रीय पदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताको समेत उपस्थिति रहनेछ ।

अधिवेशनबाट रास्वपा बागमती प्रदेशको नयाँ नेतृत्व चयन गरिनेछ । नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास गरिने भए पनि आवश्यक परे निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गरिने प्रदेश समितिले जनाएको छ । बागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् । ती अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरूले प्रदेश नेतृत्व चयनमा सहभागिता जनाउनेछन् । सिन्धुपाल्चोक जिल्ला अधिवेशन भने स्थगित भएको छ । 

रास्वपाको बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेका अनुसार १३ मध्ये १२ जिल्लामा नेतृत्व प्रक्रिया टुंगिएको छ । सिन्धुपाल्चोकमा नेतृत्व चयन हुन बाँकी छ । उनका अनुसार काभ्रेपलाञ्चोक, मकवानपुर, भक्तपुर, ललितपुर र रामेछापमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । काठमाडौं, चितवन, नुवाकोट, सिन्धुली, धादिङ, रसुवा र दोलखामा भने मतदानमार्फत नेतृत्व टुंग्याइएको हो ।

सभापति लामिछानेले सिन्धुपाल्चोकमा नेतृत्व चयनको प्रक्रिया तत्कालका लागि स्थगित गरी पछि टुंग्याउने सहमति भएको बताए । उनका अनुसार सिन्धुपाल्चोकमा नेतृत्वका लागि आकांक्षीहरूको संख्या धेरै भएको र सहमतिबाट नेतृत्व नटुंगिएको र प्रदेश अधिवेशन नजिकिइसकेकाले पछि गर्ने सहमति भएको हो । मकवानपुरमा सञ्जीव पाठक, काभ्रेमा प्रवीणकुमार ढकाल, भक्तपुरमा रामेश्वर बस्नेत, ललितपुरमा बुद्धरत्न महर्जन, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेशकुमार रायमाझी, धादिङमा राजन अर्याल, नुवाकोटमा रामेश्वर गजुरेल, दोलखामा दिनेश बस्नेत, काठमाडौंमा राजा शाक्य, चितवनमा मिनिमाधव खनाल, रसुवामा वसन्त भट्ट सभापतिमा निर्वाचित भएका छन् । 

बागमतीका १२ जिल्लामा महिला नेतृत्व शून्य
बागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ । तर, कुनै पनि जिल्लाको सभापति पदमा महिला निर्वाचित हुन सकेनन् । केही जिल्लामा उपसभापति, सहसचिव तथा सदस्य पदमा महिला निर्वाचित भए पनि नेतृत्वको मुख्य जिम्मेवारी भने पुरुषहरूको हातमै पुगेको छ । आगामी ७, ८ र ९ असारमा चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनअघि यो विषय पार्टीभित्र बहसको विषय बन्ने देखिएको छ । रास्वपा बागमती प्रदेश सभापति अच्युतम लामिछानेले जिल्ला अधिवेशनमा महिला सभापति निर्वाचित हुन नसकेको अवस्थालाई पार्टीका लागि चुनौतीका रूपमा स्वीकार गरेका छन् । उनले नेतृत्वका लागि महिलाहरू अपेक्षाअनुसार दाबेदारीसहित अघि नआउनु मुख्य समस्या रहेको बताए ।

See More On

सुझावित समाचार