कवि मनु मन्जिलको कविता वाचनसँगै सुरु भयो ‘काव्य श्रवण’

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

गत शुक्रबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा कवि मनु मन्जिलको एकल कवितावाचन कार्यक्रम सम्पन्न भएको छ। आरशालामा पलेँटी र पुस्तक कार्यक्रम गरिरहेको नेपालयले पोयट्री पनि थप गरेको हो। ‘काव्य–श्रवण’ नाम दिइएको यो कार्यक्रम हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार आयोजना हुनेछ। 

काव्य श्रवण कार्यक्रमका संयोजक कवि तथा आख्यानकार श्रवण मुकारुङका प्रश्नमा जवाफ दिँदै मनु मन्जिल कवितातिर अघि बढेका थिए। मुकारुङले सुरुमै मनु मन्जिलको कविता यात्राको आरम्भ विन्दुबारे प्रश्न गरेका थिए। मनु मन्जिलले भने, ‘स्कुल पढ्दा लेखेको कविता कतै नछापिएपछि घरको ढोकामा गोबरले टाँसेँ। घर आउने कसैले प्रतिक्रिया दिनुभएन। तर, मेरो एकजना गुरुले आमालाई भन्नुभयो– आमा यो कान्छो त ठुलो कवि हुन्छ।’ यसरी आफू कवि बन्ने बाटोमा लागेको कहानी मनु मन्जिलले सुनाए।

श्रवण मुकारुङको दोस्रो प्रश्न थियो, ‘विश्व काव्य साहित्यमा हामी कता छौँ ?’ मनुको विचारमा पश्चिमाहरू अहिले संरचनागत रुपमा चुस्त–दुरुस्त छन्, तर भावनाको प्रवाह बलियो छैन। नेपाललगायत दक्षिण एसियाका धेरै देशमा भावना तीव्र छ, संरचना चुस्त हुन सकेको छैन। सामाजिक–राजनीतिक परिवर्तन तीव्र भइरहने मुलुकमा काव्य पनि तीव्र भावमय भएको उनले सुनाए। 

यसपछि मनु आफ्ना कवितातिर लागे। गाउँले एक बालक सम्झेर, उनी कविता जीवनको रङले लेख्छिन्, दुस्मन, घोडा, यो सहर कसको हो ?, केटाकेटीहरू, तिमी मेरो क्यानभासमा, पहाड र पहिरो आदि कविता सुनाए। 

खचाखच दर्शक माझ सम्पन्न कार्यक्रममा कवि मनु मन्जिलले कविताको रचना गर्भसहित कवितामाथि सारगर्भिक मन्तव्य राख्दै कविता वाचन गरेका थिए। इटहरीमा प्राध्यापन कर्ममा व्यस्त कवि मनु मन्जिलको ‘ल्याम्प–पोस्टबाट खसेको जून’ कवितासंग्रह प्रकाशित छ।

सुझावित समाचार