साहित्यकार धनबहादुर आठपहरियाद्वारा लिखित उपन्यास ‘सुजुना’माथि धनकुटामा परिचर्चा गरिएको छ। किराँत आठपहरिया भाषा साहित्य तथा सांस्कृतिक विभाग धनकुटा र मिसन पोयट्री धनकुटाको आयोजनामा भएको कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका डा. यज्ञप्रसाद गुरागाईंले पुस्तकको चर्चा गर्दै पुस्तकले सामाजिक विषयलाई उठाएकाले पाठकको मन सजिलै जित्ने बताए।
वक्ताहरूले ‘सुजुना’ केवल एक पात्रको कथा नभई अभाव, संघर्ष र पीडाबिच जीवन बिताइरहेका नेपाली समाजका हजारौँ महिलाको प्रतिनिधि कथा भएको टिप्पणी गरे। उपन्यासकी मुख्य पात्र सुजुना आर्थिक रूपमा विपन्न परिवारकी १२ वर्षीया बालिका हुन्। शिक्षाको खोजीमा काठमाडौं पुगेकी उनी विभिन्न चुनौती, शोषण र विभेदसँग जुध्न बाध्य हुने कथावस्तु उपन्यासमा समेटिएको छ।
२६ वटा शीर्षकमा विभाजित कृतिले सामाजिक यथार्थ, मातृत्व, आर्थिक अभाव, रोग, लैंगिक विभेद तथा विविध समस्याबाट प्रभावित महिलाहरूको जीवन संघर्षलाई प्रभावकारी ढंगले चित्रण गरेको सहभागीहरूले बताएका छन्।
उपन्यासमा आठपहरिया समुदायको संस्कृति, परम्परा, जीवनशैली तथा जन्मदेखि मृत्युसम्मका संस्कारहरूलाई समेत समेटिएको छ। मार्गाथानसँग सम्बन्धित सांस्कृतिक पक्षहरूलाई कथासँग जोडेर समुदायको मौलिक पहिचानलाई साहित्यिक रूपमा अभिव्यक्त गरिएको वक्ताहरूले चर्चा गरे।