काठमाडौंमा ११औँ वातावरण साहित्य गोष्ठी सम्पन्न

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

वातावरणीय चेतना, साहित्यिक बहस र पर्यावरणीय सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाली पर्या–साहित्य प्रतिष्ठानद्वारा आयोजित ११औँ वातावरण साहित्य गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ।

कार्यक्रममा साहित्यकार, वातावरण अभियन्ता, शिक्षाविद् तथा अनुसन्धानकर्ताहरूको उल्लेख्य सहभागिता थियो। प्रतिष्ठानका संरक्षक प्रा.डा. गोविन्दराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारीवादी समालोचक तथा त्रिभुवन विश्वविद्यालयकी पूर्वशिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

कार्यक्रममा प्रा.डा. रमेशप्रसाद भट्टराई, उषा शेरचन, राजु उपरकोटी, सीता तुम्खेवा, ज्याेति जंगल र आसबहादुर तामाङले पर्यावरणीय नारीवादी कविता वाचन गरेका थिए। मुख्य वक्ताका रूपमा डा. अर्चना थापा थिइन् भने खेम प्रसाईं र देवेन्द्र पौडेलको सिर्जनामा महेश खड्काको संगीत तथा प्रयुषा न्यौपानेको स्वर रहेको पर्यागीत ‘धर्तीको गीत– २’ विमोचन गरिएको थियो।

सो अवसरमा साहित्यकार विजय हितानकी स्वर्गीय आमा प्रेमकुमारी हितानको स्मृतिमा रु. १ लाख राशिको ‘प्रेमकुमारी हितान : पर्या साहित्य पुरस्कार’ स्थापना गरिएको घोषणा गरियो। उक्त पुरस्कारको आरम्भ आगामी वर्ष आयोजना हुने १२औँ वातावरण साहित्य गोष्ठीमा प्रदान गरिनेछ।

गोष्ठीको प्रमुख आकर्षणका रूपमा दुई कृतिको विमोचन गरिएको थियो। ‘हरित हस्ताक्षर’ नामक पर्यावरणीय नारीवादी कवितासंग्रह तथा डा. गीता त्रिपाठीद्वारा लिखित ‘पर्यावरणीय समालोचना सिद्धान्त र नेपाली कविता’ पुस्तक सार्वजनिक गरिएको हो।

सुझावित समाचार