धनगढीले दियो तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिकाले पछिल्ला तीन वर्षको अवधिमा ११ र १२ कक्षामा अध्ययन गर्ने ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक अवस्था कमजोर भएका, जेहेनदार र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइएको उपमहानगरले जनाएको छ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर २०८१ सालदेखि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको हो। २०८१ मा २७६, २०८२ मा २८३ र २०८३ सालमा ३५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको उपमहानगरको तथ्यांक छ।

उपमहानगरको तथ्यांकअनुसार तीन वर्षको अवधिमा विज्ञान संकायतर्फ सबैभन्दा बढी ४७५ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन्। त्यस्तै, व्यवस्थापन संकायमा ४४३ जना, होटेल व्यवस्थापनमा ५२ जना, कानुन संकायमा २७ जना, शिक्षामा नौजना तथा मानविकी संकायमा अध्ययन गर्ने तीनजना विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ।

धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयमा उपलब्ध छात्रवृत्ति कोटामा विगतका वर्षहरूमा प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमार्फत विद्यार्थी छनोट गर्दै आएको थियो भने यस वर्ष एसइईको नतिजाको आधारमा छात्रवृत्ति प्रदान गरेको थियो। छात्रवृत्तिले आर्थिक रूपमा विपन्न र जेहेनदार विद्यार्थीको शिक्षामा पहुँच बढेको ठानिएको छ।

सुझावित समाचार