निराश हुनुहुँदैन खेलाडी

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण
  • हार्दा पनि त्यस्तो दुःखी हुनुपर्छ जस्तो लाग्दैन । हारले पनि जीवनमा धेरै नयाँ कुरा सिकाउँछ । हारले निराश बनाउँछ, तर निरन्तर अघि बढ्नुपर्छ । 

जीवनको २४ वर्ष भारोत्तोलनमै बिताएँ । यो केवल एउटा खेलयात्रा थिएन, मेरो पहिचान, संघर्ष र समर्पणको यात्रा पनि हो । यति लामो समय खेल्दा राष्ट्रिय प्रतियोगितामा म कहिल्यै दोस्रो हुनुपरेन । हरेक राष्ट्रिय प्रतियोगितामा प्रथम नै भएँ । वर्षमा तीन–चारवटा प्रतियोगिता भइरहन्थे र प्रायः प्रत्येक प्रतियोगितामा मैले आफ्नै रेकर्ड तोड्ने अवसर पाएँ ।

नेपालमा मेरो प्रतिस्पर्धी नभएका भने होइनन् । मपछिका खेलाडी निकै क्षमतावान् थिए । कहिलेकाहीँ उनीहरूसँग हारिएला कि भन्ने सोच पनि आउँथ्यो । तर, मैले आफूलाई सधैँ तयारीमा राखेँ । निरन्तर मिहिनेत गरेँ र आफ्नो लक्ष्यमा केन्द्रित भएँ । त्यसैले, राष्ट्रियस्तरमा हार्ने अवस्था कहिल्यै आएन । धेरै जितेपछि मानिसले मबाट सधैँ जितको अपेक्षा गर्थे । तर, प्रत्येक जितको पछाडि वर्षौँको अभ्यास, पसिना र त्याग लुकेको हुन्थ्यो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि मैले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएँ । साउथ एसियन च्याम्पियनसिपमा तीनवटा स्वर्ण पदक जितेँ । १२औँ र १३ औँ साफ खेलकुदमा दुइटा कास्य पदक जित्न सफल भएँ । साफ गेम, एसियन गेम र विभिन्न च्याम्पियनसिपमा सहभागी हुँदा मैले खेल मात्र खेलेको होइन, धेरै कुरा सिकेँ पनि । सन् २०१६ मा भारतमा भएको १२ औँ साफ खेलकुद मेरो जीवनको अविस्मरणीय क्षण हो ।

त्यो प्रतियोगितामा निकै कडा प्रतिस्पर्धा थियो । प्रतिस्पर्धीले जित्ला कि भन्ने डर पनि थियो । खेल सुरु हुनुअघि मनमा अनेक सोच आउँथे । तर, खेलाडीको वास्तविक परीक्षा मैदानमा हुन्छ । अन्ततः मैले आफ्नो प्रदर्शनमार्फत त्यो चुनौती पार गरेँ । आज पनि त्यो प्रतियोगिताको सम्झना आउँदा रोमाञ्चित हुन्छु । त्यसवेला पहिलोपटक साग खेलकुदमा सहभागिता जनाउँदा कास्य पदक जित्न सफल भएँ । तर, त्यो साँच्चै अप्रत्यासित प्रतिस्पर्धा रह्यो । भारत र श्रीलंकाका खेलाडी हामीभन्दा निकै सशक्त छन् । भारत र श्रीलंकाका खेलाडीले क्रमशः स्वर्ण र रजत जिते । कास्यका लागि बंगलादेशको खेलाडीसँग मेरो कडा प्रतिस्पर्धा रह्यो । दुवैले बराबरी भार उठाएपछि शरीरको तौल कम भएका आधारमा मैले पदक जितेँ । मैले १३औँ साग खेलकुदका लागि पनि तयारी सुरु गरेँ । यो नेपालमा आयोजना भएकाले धेरैले स्वर्ण पदकको अपेक्षा गरेका थिए । मैले आफूलाई निकै तयारी गरेँ । अन्ततः १३ औँ साफ गेम्स पनि स्वर्ण पदक जितेँ ।

१८औँ एसियन गेम्स, इन्डोनेसियामा पनि राम्रो प्रदर्शन गरेको थिएँ । केही खेलाडीलाई पछि पार्दै अघि बढेँ । राम्रो प्रदर्शन गर्दागर्दै पनि त्यो प्रतियोगिता हारेँ । मैले तीन–चारजनालाई जित्दै गएको थिएँ । मेडल ल्याउन सकिनँ । हारले दुःख त दिन्छ, तर म हारलाई अन्तिम परिणामका रूपमा कहिल्यै हेर्दिनँ । त्यसवेला विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्ने अवसर पाएँ ।

कतिपय प्रतियोगितामा आफ्नो रेकर्ड मात्रै ब्रेक पनि भयो । हार्दा पनि त्यस्तो दुःखी हुनुपर्छ जस्तो लाग्दैन । हारले पनि जीवनमा धेरै कुरा सिकाउँछ । हारले निराश बनाउँछ, तर निरन्तर अघि बढ्नुपर्छ । खेलाडीले कहिल्यै निराश हुनुहुँदैन भन्ने मान्यता राख्छु । अझै राम्रो गर्नुपर्छ भन्ने पाठ सिक्नुपर्छ । हारले नयाँ कुरा सिकाउँछ । कमजोरी देखाउँछ । अझ राम्रो बन्न प्रेरणा दिन्छ । त्यसैले, खेलाडीले हारेर निराश हुनुहुँदैन भन्ने मेरो विश्वास छ । हारपछि उठेर फेरि अगाडि बढ्न सक्नुपर्छ ।

अहिले खेलबाट अलग भएको करिब १० महिना भयो । पछिल्ला केही वर्षमा प्रतियोगिता कम भए । तर, खेलसँग जोडिएका सम्झना भने अझै ताजा छन् । २४ वर्षसम्म निरन्तर खेल्न सक्नु आफैँमा ठुलो उपलब्धि हो । त्यस क्रममा म नेपालकी सबैभन्दा बलियो महिला भनेर चिनिएँ, जुन मेरा लागि गर्वको विषय हो ।

भारोत्तोलनमा पुरुषहरूका लागि २० केजीको वेटबारबाट सुरु हुन्छ । महिलाको १५ केजीको वेट बारबाट सुरु हुन्छ । तर, २० केजीको वेटबारबाट मैले खेल्न थालेँ । मैले पुरुषको वेटबारबाट खेल सुरु गरेँ ।

मैले खेल्न थालेको समयमा भारोत्तोलन महिलाले खेल्ने खेल होइन भन्ने धारणा थियो । छोरी मान्छेले यो खेल खेल्दा शारीरिक समस्या हुन्छ भन्ने गलत बुझाइ समाजमा थियो । तर, समयसँगै त्यो सोच परिवर्तन भएको छ । अहिले धेरै महिला आत्मविश्वासका साथ यो खेलमा आउँदै छन् । महिलालाई हेर्ने सामाजिक मान्यता भत्किँदै छन् ।

भारोत्तोलन केवल बलको खेल होइन । यसमा दिमाग, शक्ति र टेक्निक तीनवटै पक्ष आवश्यक हुन्छ । बलियो भएर मात्र पुग्दैन, सही टेक्निक र मानसिक तयारी पनि चाहिन्छ । यही कारणले यो खेल मलाई सधैँ विशेष लाग्यो ।

मेरो २४ वर्षको यात्रामा व्यक्तिगत मिहिनेतसँगै पुलिस क्लबको ठुलो योगदान छ । पुलिस क्लबको सहयोगविना यो यात्रा सम्भव हुने थिएन । आज खेलबाट टाढा भए पनि भारोत्तोलनले दिएको अनुशासन, आत्मविश्वास र जीवनका पाठ सधैँ मेरो साथमा रहनेछन् । 

(पुन राष्ट्रिय भारोत्तोलन खेलाडी हुन् ।)

See More On

सुझावित समाचार