- साताको पहिलो कारोबार जुन विन्दुबाट सुरु भएको थियो, अन्तिम दिन सोही विन्दुमा रोकियो नेप्से
साताभरमा सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थिर देखिएको छ । बजार खुलेको पहिलो दिन २,७५५.३७ विन्दुमा पुगेको बजार परिसूचक अन्तिम दिन शुक्रबार आइपुग्दा २,७५५.४१ विन्दुमा पुगेर रोकिएको छ । अर्थात्, परिसूचक समग्रमा नगण्य (०.०४) अंकले मात्रै बढेको हो ।
आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटपछि यो साता खुलेको बजारमा उत्साह बढ्न सकेन । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया टुंगोमा नपुग्दा पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । नयाँ अध्यक्ष आएपछि सेयर बजारले लिने नीतिको पर्खाइमा रहको जानकारहरू बताउँछन् । सिफारिस समितिले अध्यक्षका लागि तीनजना सिफारिस गरे पनि मन्त्रिपरिषद्ले हालसम्म निर्णय लिन सकेको छैन । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले बोर्डको कार्यकारी निर्देशक विनयदेव आचार्य, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।
सिफारिस समितिले चारजना उम्मेदवार डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सम्पन्न गरी तीनजनाको नाम गत आइतबारको मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सिफारिसमा आचार्य, क्षेत्री र भट्ट परेका छन् । स्रोतअनुसार क्षेत्रीलाई नै अध्यक्ष बनाउने उद्देश्यसहित अर्थ मन्त्रालयले सम्पूर्ण प्रक्रिया अघि बढाएको थियो । तर, प्रधानमन्त्री बालेन्द्र शाहले क्षेत्रीले सेबोनको सञ्चालक समितिमा हुँदा विवादित व्यवसायी दीपक भट्ट सञ्चालक रहेको हिमालयन रि–इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा सार्वजनिक सेयर निष्कासन (आइपिओ) निष्कासन गर्न सघाउने गरी निर्देशिका बनाउन मद्दत गरेको उजुरीपछि उक्त नियुक्तिलाई विचाराधीन राखेको स्रोतले जानकारी दिएको छ । आवेदन दिने ४७ जनाको नामावली गोप्य राखेको अर्थ मन्त्रालयले सिफारिसका लागि समितिले तर्जुमा गरेको कार्यविधिसमेत सार्वजनिक गरेको छैन ।
आगामी सोमबार बस्ने बैठकले सम्भवतः नयाँ अध्यक्ष नियुक्ति गर्ने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । नयाँ अध्यक्ष र उनले लिन सक्ने नीतिले आगामी सेयर बजारको कार्यदिशा तय हुने लगानीकर्ता बताउँछन् । सेबोनले गत १६ वैशाखमा आगामी आर्थिक वर्ष ०८३/८४ का लागि धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्न सरोकारवालासँग राय–सुझाव पनि माग गरेको थियो ।
नेप्सेमा साताभरमा प्रत्येक दिन पाँच अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहीबार एक दिन चार अर्ब २२ करोडको सेयर कारोबार भएको थियो । सर्वाधिक सेयर कारोबार बुधबार पाँच अर्ब ३३ करोड रुपैयाँको भएको थियो । शुक्रबार कुल बजार पुँजीकरण ४७ खर्ब एक अर्ब २८ करोड रुपैयाँ कायम छ ।