राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ७७ वटै जिल्लामा हुने जिल्ला अधिवेशनको तयारीस्वरूप निर्वाचन समिति गठन गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार शनिबार र आइतबार सञ्चालन हुने अधिवेशनका लागि प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति खटाइएको हो।
आयोगका अनुसार केही स्थानीय तहमा उजुरी परेपछि बागमती र मधेश प्रदेशका केही क्षेत्रमा अधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। साथै, कतिपय स्थानमा पुनः निर्वाचन गराउन निर्देशनसमेत जारी गरिएको जनाइएको छ।
रास्वपाको विधानअनुसार प्रत्येक जिल्ला समितिमा एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव, पाँचजना समावेशी सदस्य तथा प्रत्येक निर्वाचन क्षेत्रबाट एक–एकजना निर्वाचित सदस्य रहने व्यवस्था छ। सोही संरचनाअनुसार जिल्ला समिति गठन गरिनेछ।
विधानमा सभापतिले निर्वाचित पदाधिकारी तथा सदस्यहरूमध्येबाट एकजना कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान पनि रहेको छ। साथै, जिल्ला समितिको सदस्य संख्या बिजोर कायम गर्न सभापतिले थप दुई वा तीनजना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ।
यसअघि प्रदेश अधिवेशनको तयारीका लागि केन्द्रीय निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा अधिवेशन समन्वय, सहजीकरण तथा प्रदेश निर्वाचन आयोग गठनको जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई प्रदान गरिसकेको छ।