सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका आधारभूत सेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीको सहभागितामा आयोजित उक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई नेपाल बिमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने तथा उपनिर्देशक पदमप्रसाद सोडारीले सहजीकरण गरेका थिए । कार्यक्रममा वित्तीय अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड, नियामकीय अपेक्षा र बिमा क्षेत्रको भूमिका सम्बन्धमा विस्तृत प्रस्तुतीकरण दिइएको थियो ।
कार्यक्रममा सञ्चालक समिति, आधारभूत सेयरधनी तथा उच्च व्यवस्थापनको भूमिका र जिम्मेवारी, एमएल–सिएफटी नीति तथा कार्यविधिको स्वीकृति र कार्यान्वयनबारे छलफल गरिएको छ । यस्तै, जोखिममा आधारित दृष्टिकोण अवलम्बन, संस्थागत जोखिम मूल्यांकन, सुशासन तथा प्रभावकारी निगरानी प्रणाली, एएमएल जोखिम नियन्त्रणका लागि आवश्यक स्रोतसाधनको सुनिश्चिततालगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा नियामकीय अनुपालनलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई सफल बनाउन बिमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा राखे । कम्पनीले यी मापदण्ड, सुशासन, जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखी काम गर्ने जनाएको छ ।