जिल्ला प्रहरी परिसर, काठमाडौंको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिलीप घिमिरेले सम्हालेका छन्। बिहीबारले उनले परिसरको नेतृत्व सम्हालेका हुन्।
गृह मन्त्रालयले गत सोमबार उनको परिसरमा सरुवा गरेको हो। गृह मन्त्रालयसमेत सम्हाल्दै आएका प्रधानमन्त्री बालेन शाहको रोजाइका आधारमा उनलाई परिसरमा खटाइएको स्रोत बताउँछ। यसअघि एसपीमा इलाम जिल्लामा कार्यरत हुँदा उनी उत्कृष्ट जिल्ला इन्चार्जका रूपमा पुरस्कृत भएका थिए।
काठमाडौं परिसरका एसएसपी रमेश थापा बिहीबारदेखि बिदा भएका छन्। जेन-जी आन्दोलनपछिको कठिन समयमा उनले काठमाडौं परिसरको सफलताका साथ नेतृत्व गरे। काठमाडौंका प्रहरीका अधिकांश कार्यालयको बस्ने ठाउँसमेत नभएको र प्रहरीको मनोबल खस्किएको चुनौतीपूर्ण अवस्थामा उनले काठमाडौं प्रहरीको नेतृत्व सम्हालेका थिए। करिब नौ महिना काठमाडौंको कमान्ड सम्हालेका थापाले शान्तिसुरक्षालाई सामान्यीकरण गर्नदेखि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतको पक्राउ र अनुसन्धानसम्मका कामको कमान्ड गरे। थापाको प्रहरी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ।
