आर्थिक वर्ष ०८१/८२ मा जिल्ला प्रशासन कार्यालय पर्सामा खटिएका दुईजनाको कम्प्युटर अपरेटरको भुक्तानी गाउँपालिका कार्यालयले दिएपछि आर्थिक अनियमितता भएका पाइएको छ।
जिल्लाको पकाहामैनपुर गाउँपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालय पर्सामा खटिएका दुईजनाको कम्प्युटर अपरेटरको भुक्तानी गरेपछि महालेखा परीक्षकको कार्यालयले आर्थिक अनियमितता भएको जनाएको छ।
एकै आर्थिक वर्षमा दुई कम्प्युटर अपरेटरलाई आठ लाख ३५ हजार ६५० रुपैयाँ पालिका कार्यालयले भुक्तानी गरेपछि महालेखा परीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनले आर्थिक अनियमितता औँल्याएको हो।
जिल्ला प्रशासन कार्यालय पर्सामा खटिएका कम्प्युटर अपरेटर रविभूषणप्रसाद कुशवाहा र सहायक कम्प्युटर अपरेटर राजेशकुमार महतोले गाउँपालिका कार्यालयबाट उक्त भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ।
उनीहरूलाई कम्प्युटर अपरेटर पदमा डोर हाजिरीमा कामकाज गर्न खटाएबापत गाउँपालिका कार्यालयबाट भुक्तानी लिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व नियमावली, २०७७ को नियम ३९ (१) बमोजिम विनियोजित बजेट निर्धारित कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ। नमुना परीक्षण गर्दा कार्यालयमा प्राप्त हुने रकम तोकिएको काममा मात्र खर्च गर्न सकिनेमा कार्यालयले छुट्टै अस्तित्व र बजेट व्यवस्था भएको कार्यालयलाई भुक्तानी गरेको रकम नियमसम्मत नदेखिएको उल्लेख छ।
यसरी खर्च गर्दा पालिकाको आफ्नो पूर्वाधार विकास निर्माणसम्बन्धी बजेट व्यवस्थापनमा चाप पर्ने र कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा असर पर्ने हुँदा यस्तो खर्चमा नियन्त्रण गर्नुपर्ने प्रतिवेदनमा औँल्याइएको छ।