नेपाललाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिप २०२६ को फाइनलमा प्रवेश गरेको छ। बुधबार गोवाको नेहरू रंगशालामा बंगलादेश २–१ ले विजयी भएको हो।
नेपाल दोस्रोपटक सेमिफाइनलबाटै बाहिर भएको हो। यसअघि सन् २०१६ पनि यस्तै भएको थियो। त्यसबाहेक ६ पटक फाइनल खेलेको नेपाल सधैँ उपाधिविहीन रह्यो।
नेपालका लागि गीता रानाले एक गोल गरिन्। बंगलादेशका लागि रितु पुर्णा चक्माले गरेकी हुन्। अर्को गोल आत्माघाती रह्यो। बंगलादेशकी सागोरिकाको प्रहार प्रीति राईलाई लाग्दै जाली चुमेको थियो।
खेलको २३औँ मिनेटमा गीताले नेपाललाई अग्रता दिलाएकी थिइन्। बंगलादेशका गोलकिपर र डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई गीताले बक्सभित्रबाट सुन्दर गोल गरेकी हुन्। प्रतियोगितामा उनको यो दोस्रो गोल हो। यसअघि उनले भुटानविरुद्ध निर्णायक गोल गरेकी थिइन्।
पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले बराबरी गोल फर्कायो। रितुले कर्नरमै सिधै गोल गर्न सफल भइन्। खेलको इन्जुरी समयमा सागोरिकाले गोलकिपर अञ्जिलालाई बिट गर्दै हानेको प्रहार प्रीतिलाई लागेर गोल भएको थियो।
यो खेलमा प्रीति राईले कमब्याक गरेकी थिइन्। उनी अघिल्लो दुई खेलक्रममा कम्बोडिया नै दिइन्।
नेपालले समूह ‘ए’को पहिलो खेलमा भुटानलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराउँदै सेमिफाइनल पक्का गरेको थियो। बंगलादेश भने माल्दिभ्सलाई ४–२ ले हराउँदा भारतसँग ३–० ले पराजित भएको थियो।
अब बंगलादेशले उपाधिको लागि भारत र भुटानबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। भारत र भुटानबिचको खेल आजै हुनेछ।