बजेटलाई सघाउने राष्ट्र बैंकको प्रतिबद्धता

विद्युतमा भ्याटको निर्णय फिर्ता नहुने, तर सहुलियत दिने अर्थमन्त्रीको आश्वासन

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

आगामी आवको बजेटले निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न राष्ट्र बैंकले सघाउने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट अन्तर्क्रिया’मा बजेटले राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न आवश्यक पर्ने तरलता व्यवस्थापन गर्ने र मुद्रास्फीतिलाई ६ प्रतिशतभित्रै सीमित राख्ने गरी राष्ट्र बैंकले नीतिहरू तर्जुमा गर्ने उनले बताए । वर्तमान असाधारण परिस्थितिलाई सम्बोधन गर्न सरकारलाई महत्वाकांक्षी बजेट ल्याउने दबाब र आवश्यकता रहेको उल्लेख गर्दै उनले सुशासन, डिजिटलाइजेसन र विद्युतीकरणलाई प्राथमिकता दिएकाले अर्थतन्त्रमा सकारात्मक ‘सिनर्जी’ आउने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)बाट सरकार पछाडि नहट्ने स्पष्ट पारेका छन् । उनले विगतका सरकारले छुनसमेत नसकेको क्षेत्रमा उपभोगमा आधारित करको नयाँ अभ्यास थालिएको बताए । उनले भने, ‘बिजुलीमा भ्याट आयो, आउँछ । यसबाट सरकार पछाडि हट्दैन ।’ तर, उपभोक्तालाई मार पर्न नदिन आगामी साउनदेखि नै विभिन्न सहुलियतका विकल्प ल्याइने आश्वासन उनले दिए ।

यस्तै, ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीमा कर नबढाउन प्रधानमन्त्रीबाटै निर्देशन आएको र सोहीअनुसार गरिएको उनले बताए । हाल एक करोडसम्मका इभी चढ्नु विलासिता भएको विषय सबैले स्वीकार गर्नुपर्ने उनको भनाइ छ । यसअघि किलोवाटका आधारमा गाडी आयात गर्दा महालेखा परीक्षकले प्रश्न उठाएका कारण व्यवसायीहरू तनावमा रहेकोमा अहिले मूल्यका आधारमा कर लगाउँदा अटो व्यवसायीले राहत महसुस गरेको उनले दाबी गरे । 

निजी क्षेत्रको मिश्रित प्रतिक्रिया
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेटले निजी क्षेत्रको मनोबल बढाउने र बजारमा घटेको उपभोग्य वस्तुको मागलाई सम्बोधन गरी अर्थतन्त्र चलायमान बनाउने बताए । परिसंघले माग गर्दै आएको आयकर ऐनको दफा ५७ को संशोधन स्वागतयोग्य भएको उनले उल्लेख गरे । त्यस्तै, सरकारले तीन सय ६० वटा वस्तुबाट अन्तःशुल्क हटाउँदा ‘कस्ट अफ बिजनेस’ घट्ने उनले बताए । यद्यपि, भारतलगायतका देशबाट आयातित वस्तुमा गुणस्तर मापदण्ड लागू गर्ने माग र उत्पादनमूलक उद्योगमा हदबन्दी नलाग्ने व्यवस्था बजेटमा नसमेटिएकोमा उनले गुनासो गरे । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकार गठन भएको छोटो अवधिमै सुस्ताएको अर्थतन्त्रलाई नयाँ आयाम दिने र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात विन्दुका रूपमा बजेट आएको बताए । चेम्बरका अधिकांश सुझाव समेटिएको भन्दै उनले व्यक्तिगत आयकर छुट हुने आम्दानीको सीमा १० लाख पुर्याइनुलाई पारदर्शी अर्थतन्त्रको राम्रो सुरुवात भएको बताए । तीन सय ६० प्रकारका वस्तुको अन्तःशुल्क हटाइनु (८ र १० डिजिटको हार्मोनाइज्ड कोडको भिन्नताका कारण व्यवसायी पीडित बन्ने गरेको सन्दर्भमा) र दुई सय ७३ वटा औद्योगिक कच्चा पदार्थको भन्सार दर घटाइनु औद्योगिकीकरणका लागि राम्रो कदम भएको उनले बताए ।  

नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालू आर्थिक वर्षको बजेट ६ खर्बभन्दा बढीको वित्तीय घाटा र स्रोत व्यवस्थापनको चुनौतीसहित आएकाले केही महत्वाकांक्षी देखिएको बताए । हाल पुँजीगत खर्च केवल २० प्रतिशत मात्र रहेको अवस्थामा बजेट रूपान्तरणकारीतर्फ जान खोजेको उनले टिप्पणी गरे । 

तर, ५० युनिटभन्दा बढी बिजुली खपतमा पाँच प्रतिशत कर र शिक्षा–स्वास्थ्यमा लगाइएको करले निजी क्षेत्र र उपभोक्तामाथि भार पर्ने भएकाले यसमा संशोधन हुनुपर्ने उनको माग छ ।

See More On

सुझावित समाचार