अब टी–२० विश्वकपका लागि ग्लोबल छनोट हुने

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण
  • सन् २०२६ को टी–२० विश्वकपमा एसोसिएट राष्ट्रहरूले महादेशीय क्षेत्रीय छनोट पार गरी स्थान बनाएका थिए । अब आइसिसीको नयाँ नियमअनुसार १६ टोलीले ग्लोबल छनोट खेल्नुपर्नेछ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पुरुष टी–२० विश्वकपका लागि १६ टोली सहभागी हुने गरी ‘ग्लोबल क्वालिफायर’को संरचना पुनः ब्युँताएको छ । भारतको अहमदाबादमा आइतबार भएको आइसिसीको बोर्ड बैठकले फेरि ग्लोबल छनोटको माध्यमबाट टी–२० विश्वकपका लागि पुरानै संरचना बनाउने तयारी गरेको हो । आइसिसीले यसअघि विभिन्न महादेशका छनोटबाट आएका टोलीलाई विश्वकपमा स्थान दिइएको थियो । नेपालले लगातार सन् २०२४ र २०२६ को विश्वकपमा स्थान पक्का गर्दा एसिया छनोट खलेको थियो । सन् २०१४ को विश्वकपमा पहिलोपटक नेपालले स्थान बनाउँदा ग्लोबल छनोट पार गरेको थियो । 

आइसिसीले पुरानै फर्म्याटमा टी–२० विश्वकप नियम लागू गर्दा अब महादेशीय छनोट पार गरेका १६ टोलीलाई विश्वकप छनोट खेलाउने आइसिसीले निर्णय गरेको हो । आइसिसीको बोर्ड बैठकले सो प्रस्तावलाई आधिकारिक रूपमा स्वीकृति दिएको अन्तर्राष्ट्रिय एजेन्सीले जनाएको छ । आइसिसीले अन्तिमपटक ग्लोबल छनोट सन् २०१९ मा युएईमा आयोजना गर्दा नेदरल्यान्ड्स विजेता बनेको थियो । 

त्यसपछि विश्वकपमा सहभागी संख्या बढाएर रोमाञ्चक बनाउन आइसिसीले महादेशीय छनोटबाट आएका टोलीलाई टी–२० विश्वकपमा स्थान दिएको थियो । गत मार्चमा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा पहिलोपटक २० राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । सो विश्वकपमा पाँचवटा क्षेत्रीय छनोटमार्फत मात्र टोली छानिएका थिए । आइसिसीले क्षेत्रीय छनोट गर्दा एसोसिएट राष्ट्रका प्रतिस्पर्धा केही बाँडिएको आइसिसीले जनाएको थियो । उनीहरूले माथिल्लोस्तरमा प्रतिस्पर्धा गराउन नै आइसिसीले आगामी संस्करणका टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रणाली पुनः ब्युँताउने निर्णय गरेको हो । 

नयाँ ग्लोबल क्वालिफायरको अन्तिम ढाँचा आगामी जुलाईमा बस्ने आइसिसीको अर्को बैठकले तय गर्नेछ । नयाँ निर्णय लागू हुँदा उत्कृष्ट एसोसिएट टोलीले एउटै मञ्चमा दबाबबिच प्रतिस्पर्धा गर्ने अवसर पाउने आइसिसीको विश्वास छ । नेपालले पहिलोपटक सन् २०१२ को ग्लोबल छनोट खेलेको थियो । त्यसपछि २०१५ र २०१९ को ग्लोबल छनोटमा नेपाल पुग्न सकेन । सन् २०२२ का लागि भएको छनोटमा नेपाल सेमिफाइनलमा पराजित भएको थियो । 

क्रिकेटमा पनि नियम परिवर्तन 
आइसिसीको आइतबार अहमदाबादमा बसेको बोर्ड बैठकले क्रिकेटको सुशासन, महिला क्रिकेटको विकास र खेलमा नवीनता ल्याउने सम्बन्धमा महŒवपूर्ण निर्णय गरेको छ । आइसिसीले टेस्ट खेलमा कम प्रकाशका कारण खेल रोकिने समस्या समाधान गर्न दुवै टोलीको सहमतिमा ’पिंक बल’ (गुलाबी बल) प्रयोग गरी खेल जारी राख्ने परीक्षण गरिने जनाएको छ । यसैगरी, खेल मैदानको प्रकाश व्यवस्था सुधार्न आइसिसीले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग मिलेर नयाँ प्रविधिमा लगानी र अनुसन्धान गर्ने भएको छ । 

खेल दौरान बलिङ एक्सन नियमविपरीत भए वा नभएको जाँच गर्दा अब म्याच अफिसियलले ‘हक–आई’को डाटा प्रयोग गर्न पाउनेछन् । यसैगरी, खेलको दौरान हुने ‘ड्रिंक्स ब्रेक’ मा प्रशिक्षक वा उनले तोकेको व्यक्तिले मैदानमा गएर टोलीसँग सल्लाह गर्न पाउनेछन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई इनिङ्सबिच १५ मिनेटको समय अनिवार्य गरिएको छ । लेगसाइडतर्फ फालिने वाइड बलसम्बन्धी नियमलाई अब स्थायी रूपमा लागू हुनेछ । यो नियम १ अक्टोबर २०२६ देखि लागू हुने आइसिसीले जनाएको छ । 

महिला इमर्जिङ नेसन्स ट्रफीमा १० टोलीले प्रतिस्पर्धा गर्ने
आइसिसीले पहिलोपटक सन् २०२६ मा १० टोली सहभागी हुने महिला इमर्जिङ नेसन्स ट्रफी आयोजना गर्ने निर्णय गरेको छ । आइसिसीले सन् २०२७ को महिला च्याम्पियन्स ट्रफी आगामी १४ देखि २८ फेब्रुअरीसम्म सञ्चालन गर्ने गरी समयतालिका परिवर्तन गरेको छ । प्रतियोगितामा पाँच पूर्ण सदस्य राष्ट्र र पाँच एसोसिएट सदस्य राष्ट्र रहनेछन् । टोली छनोट विश्व वरीयता र अघिल्लो महिला टी–२० विश्वकप छनोट प्रदर्शनका आधारमा हुने आइसिसीले जनाएको छ । 

सन् २०२५ मा भएको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । आइसिसीले महिला च्याम्पियन्स ट्रफी २०२७ को समय पनि परिवर्तन गरेको छ । यसअघि जुन–जुलाईमा हुने भनिएको प्रतियोगिता अब १४ देखि २८ फेब्रुअरी २०२७ सम्म सञ्चालन हुनेछ । पाकिस्तानले आयोजना गर्ने महिला टी–२० विश्वकप २०२८ का लागि छनोट प्रक्रिया पनि अनुमोदन गरिएको छ । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् ।

आइसिसीको प्रतिबन्धमा क्यानडा 
आइसिसीले सदस्यीय दायित्वको गम्भीर उल्लंघन गरेको भन्दै क्यानडाको क्रिकेट बोर्डलाई तत्काल प्रभाव रहने गरी निलम्बन गरेको छ । क्यानडा क्रिकेटले प्रशासनिक तथा सुशासनसम्बन्धी समस्या समाधान गरी आइसिसीले तोकेका सर्तहरू पूरा गरेपछि मात्र सदस्यता पुनर्बहाली हुनेछ । आइसिसीले निलम्बन गरे पनि क्यानडालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन व्यवस्था गरेको छ । क्यानडाले निलम्बनको अवधिमा प्रतियोगितामा भाग लिँदा त्यसको सबै जिम्मेवारी आइसिसीले लिनेछ । आइसिसीले क्यानडाको घरेलु कार्यक्रम र विकासका लागि आर्थिक सहयोग गर्नेछ । सो रकम आइसिसीको प्रत्यक्ष निगरानीमा स्वीकृत राष्ट्रिय टोलीका कार्यक्रममा मात्र प्रयोग गर्न पाइनेछ । आइसिसीले क्यानडा क्रिकेटलाई पुनर्बहालीका लागि आवश्यक सर्तहरू पनि दिएको छ । ती सर्तहरू प्रशासनिक तथा सुशासनसम्बन्धी समस्या समाधान गर्न केन्द्रित रहनेछन् ।

सर्तहरूको कार्यान्वयन प्रगतिलाई आइसिसीको नर्मलाइजेसन कमिटी र व्यवस्थापन टोलीले अनुगमन गर्नेछ । सबै सर्त पूरा भएकोमा बोर्ड सन्तुष्ट भएपछि मात्र क्यानडा क्रिकेटको सदस्यता पुनर्बहाली गरिने आइसिसीले जनाएको छ । क्यानडामा आइसिसी क्रिकेट विश्वकप लिग २ को सिरिज हुँदै छ । गत महिना मात्र क्यानडाको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका थिए ।

आइसिसीले क्यानडाको बोर्डले लामो समयदेखि खराब सुशासन, प्रशासनिक कमजोरी, आर्थिक अपचलन तथा म्याच फिक्सिङजस्तो आरोप लगाउँदै निलम्बन गरेको हो । आइसिसीको एन्टी करप्सन युनिटले क्यानडामाथि छानबिन सुरु गरिसकेको छ । क्यानडा निलम्बनमा पर्नुको पछाडि आइसिसीलाई बार्षिक अडिट रिपोर्ट नबुझाउनु हो । 

सुझावित समाचार