हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको मैदानको उद्घाटन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिलालेख अनावरण गर्दै गरेका हुन् । उद्घाटनसँगै बागमती प्रदेशले पहिलोपटक आफ्नै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदान पाएको छ ।
उद्घाटन कार्यक्रममा क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)का सचिव पारस खड्का, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा पूर्वसदस्यसचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले गौरीटार रंगशालालाई प्रदेशको गौरव र पहिचानसँग जोडिएको परियोजनाका रूपमा विकास गरिने बताए। उनले आगामी आर्थिक वर्षको बजेटमार्फत आवश्यक स्रोत सुनिश्चित गरेर रंगशालाको बाँकी पूर्वाधार निर्माणलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे ।
‘क्रिकेट मैदानलाई अझ व्यवस्थित गर्दै दर्शक क्षमतायुक्त प्यारापिट विस्तार गर्ने तथा खेलकुद पूर्वाधारलाई बहुउद्देश्यीय स्वरूपमा विकास गर्नेछौँ,’ उनले भने, ‘रंगशालाभित्र हेल्थ डेक्स, सिन्थेटिक ट्र्याक, खेलाडीमैत्री सुविधा तथा अन्य आधुनिक संरचना निर्माण गरिने लक्ष्य छ।’
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशलाई राष्ट्रिय तथा अन्तरप्रदेशस्तरीय खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य सरकारको रहेको उल्लेख गर्दै नेपाल क्रिकेट संघ (क्यान) लगायत सरोकारवालासँग सहकार्य गरेर खेल पूर्वाधार विकासलाई तीव्रता दिइने बताए ।
उनले प्रदेश सरकारले ‘बागमती प्रदेशको सान, खेलाडीको सम्मान’ कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए। प्रदेश तथा देशका लागि योगदान गरेका खेलाडीहरूलाई खेल जीवन सकिएपछि पनि सम्मानजनक जीवनयापनका लागि भत्ता तथा सम्मान रकम उपलब्ध गराउने नीति अघि सारिएको जानकारी दिए। उनका अनुसार आवश्यक कार्यविधि तयार गरी आगामी आर्थिक वर्षदेखि उक्त व्यवस्था लागू गरिनेछ।
‘हेटौँडालाई क्रिकेटको हब बनाउँछौँ’ : पारस खड्का
नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्वकप्तान पारस खड्काले गौरीटार क्रिकेट मैदान निर्माणलाई बागमती प्रदेशको क्रिकेट इतिहासको महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले हेटौँडालाई बागमती प्रदेशको क्रिकेट ‘हब’ का रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे।
खड्काले विगतमा मकवानपुरका खेलाडीहरूले एउटै मैदानमा विभिन्न खेल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै गौरीटारमा छुट्टै क्रिकेट मैदान निर्माण हुनु क्रिकेट समुदायका लागि खुसीको विषय भएको बताए। उनले अब यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे।