संयोग र नविताको जोडी च्याम्पियन

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

संयोग कपाली र नविता श्रेष्ठको जोडीले ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा शनिबार स्वर्ण पदक जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबका संयोग र नविताको जोडीले बागमती प्रदेशका प्रजिल भट्टराई र आस्मा पहरीको जोडीलाई ११–२, ११–४ र १५–१३ को सोझो सेटमा पराजित गरेका हुन् ।

एपिएफका राजीव चिकबन्जार र योंगी पौडेल तथा नेपाल आर्मीका जयस्नु महर्जन र सुरम्य शाक्यको जोडी तेस्रो भए । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा बागमतीका सुजन गदाल र प्रजिल भट्टराईको जोडी पहिलो भए ।

महिला डबल्सको उपाधि एपिएफका अनिता महर्जन र दीक्षा दाहालको जोडीले जिते । सिनियर, क्याडेट र जुनियर गरी ११ स्पर्धा समावेश प्रतियोगितामा शनिबारसम्म ९ स्वर्ण पदकको टुंगो लागेको छ ।

यसअघि क्याडेट यू–१५ सिंगल्सको ब्वाइजमा एपिएफका निश्चल थापा र गर्ल्समा नेपाल आर्मीकी सुरम्य शाक्य तथा जुनियर यू–१९ सिंगल्सको ब्वाइजमा नेपाल आर्मीका जयस्नु महर्जन र गर्ल्समा प्रहरीकी प्राज्ना महर्जनले स्वर्ण जितेका थिए । 

सुझावित समाचार