गोहीको आक्रमणबाट बेपत्ता भएका गेरुवा गाउँपालिका- ४, राजीपुरका २२ वर्षीय विवश थारूको परिवार राहत पाउनबाट वञ्चित भएको छ। राहत निर्देशिका भएको कानुनी जटिलताले गर्दा ९ महिनाअगाडि गोहीको आक्रमणबाट बेपत्ता भएका थारूको परिवार राहत पाउनबाट वञ्चित भएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जले १७ वैशाख २०८३ मा स्वर्ण महोत्सव मनायो। स्वर्ण महोत्सवको प्रमुख अतिथि थिइन् कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरी आइन्। त्यसैगरी, महोत्सवमा बर्दियाबाट निर्वाचित ठाकुरसिंह थारू तथा श्रीधर पोखरेल, मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेल पनि सहभागी थिए।
कार्यक्रममा गोहीको आक्रमणबाट बेपत्ता भएको विवशले राहत पाउन नसकेको विषयमा बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापनका अध्यक्ष हेमन्तप्रसाद आचार्यले बोल्ने क्रममा उठाएका थिए भने मन्त्री चौधरीले ज्ञापन-पत्रसमेत बुझाए। तर, कार्यक्रममा सहभागी भएर फर्किएपछि सरोकारवाला निकायले राहत प्रक्रियालाई अगाडि बढाउने गरी काम गरेको छैनन्।
गोहीले ६ असोज २०८२ मा श्रीमानलाई गोहीले बेपत्ता पारेपछि घरव्यवहार चलाउन पनि समस्या भएको अञ्जली थारूले बताइन्। उनले भनिन्, ‘ विवशलाई गोहीले बेपत्ता पारेपछि कमाएर ल्याउने कोही छैन। घरखर्च चलाउन पनि समस्या भएको छ। परिवारमा कमाएर ल्याएर दिने कोही छैन। घरबाससहित ३ कट्ठा जग्गा छ, त्यहाँ भएको उत्पादनले खान पुग्दैन। कमाउन जाऊँ भने नानी सानी छे। आमा पनि बिरामी हुनुहुन्छ। निकुञ्जबाट आउने राहत रकम आएको भए केही सहज हुने थियो।’
‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका- २०८०’ ले वन्यजन्तुको आक्रमण भएको व्यक्तिको परिवारले राहत पाउनका लागि पोस्टमार्टम रिपोर्ट, प्रहरीको मुचुल्का, मृत्युदर्ता, र नाता प्रमाणित अनिवार्य पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ। तर, अहिलेसम्म विवशको शव फेला पर्न सकेको छैन। जसले गर्दा पीडित परिवारले राहत पाउन सकेको छैन।
गोहीले आक्रमण गरेर विवशलाई नदीभित्र लगेपछि विवशलाई खोज्न निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयले खोजी कार्य गरेका थिए। करिब दुई महिनासम्म विवशको खोजी गर्दा पनि विवशलाई फेला पार्न नसकिएको निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोककुमार रामले असोजमा गोहीले बेपत्ता पारेको विवशको परिवारलाई राहत निर्देशिका- २०८० मा भएका व्यवस्थाअनुसार राहत दिन नसकिएको बताए। उनले भने, ‘परिवारलाई राहत दिनका लागि समस्या भएको जानकारी गराउँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्र पठाएका छौँ।’