सरकारले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको छ । यसअन्तर्गत काठमाडौंको स्युचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने भएको छ ।
एआई प्रविधिको विकासका लागि सरकारले हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गर्ने र एआई उद्यमी तथा स्टार्टअपहरूलाई सहुलियतपूर्ण दरमा कम्प्युट क्षमता उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सारेको छ । नेपालको स्वच्छ जलविद्युत् ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्दै सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण गरिने बजेटमा विश्वास व्यक्त गरिएको छ ।
यस क्षेत्रमा बौद्धिक पलायनलाई रोक्न र बिदेसिएका प्रतिभालाई आकर्षित गर्न आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति कमाइरहेका कम्तीमा १५ जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रण गरिनेछ । एआईको युगमा जग मानिने गणितलगायतका शैक्षिक विधालाई अब उच्च प्राथमिकता दिइने बजेटमा उल्लेख छ । डिजिटल र आधुनिक अर्थतन्त्रको जग बलियो बनाउन समग्र शैक्षिक प्रणालीमै आमूल सुधार (प्रणालीगत पुनर्संरचना) गरिने सरकारको योजना छ ।
जसका लागि राष्ट्रिय विद्यालय नक्सांकन र पूर्वाधार अडिट गरिने उल्लेख छ । शिक्षकहरूको क्षमता परीक्षण गरिने पनि भनिएको छ । त्यस्तै, विद्यालयहरूमा एआई तथा एड–टेक तत्परता मूल्यांकन गरिने भनिएको छ । यिनै सूचकका आधारमा देशैभर नवप्रवर्तन र सिपकेन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा बजेट तथा लगानी बढाउने घोषणा सरकारले गरेको छ ।