तिरस्कारले टेकायो सगरमाथा शिखर

नेपालको इतिहासमा पहिलोपटक ट्रान्स वुमन निलम पौडेल सगरमाथाको चुचुरोमा पुगेकी छिन्

शनिबार, १६ जेठ, २०८३
डिजिटल संस्करण

सधैँ एउटै रंगको झन्डा देखेको सगरमाथाको शिखरले यसपटक इन्द्रेणी रंगको झन्डा देख्यो । त्यो झन्डा चुचुरोसम्म पुर्‍याउने साहस गरेकी थिइन्, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी निलम पौडेलले । सगरमाथा आरोहणको सात दशकको यात्रामा पहिलोपटक निलमले यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व गरेकी हुन् ।

जेठ ९ गते शनिबार बिहान सात बजेको थियो, निलमको टोलीले सगरमाथाको चुचुरो टेक्यो । जब सगरमाथाको चुचुरो पुगिन्, उनी स्तब्ध भइन् । विश्वासै गर्न सकिनन् । उनीसँगै गएको साथीले झक्झकाएपछि उनलाई साँच्चै सगरमाथाको चुचुरोमा पुगेँ भन्ने लाग्यो । त्यसपछि उनी चिच्याइन्, कराइन्, रोइन् । आँखाबाट बर्बर हर्षको आँसु झारिन् । ‘यहाँसम्म पुर्‍याउन सहयोग गर्ने साथी, समुदाय र परिवार सम्झिएँ । मलाई होच्याएर, गिज्याएर भनेको शब्दहरू सम्झेर धेरै रोएँ,’ आँसुसँगै उनले सम्झिइन्, ‘मेरो समुदायको झन्डा शिखरमा फर्फराइहँदा हामीलाई विभेद गर्नेहरूलाई झापड हान्न सकेँ भन्ने लाग्यो ।’

निलमले शिखरमै बारम्बार समाजको विभेद सहन नसकेर ज्यान फाल्ने साथीहरूलाई सम्झिइन् । मृत्युवरण गरेका ती साथीमाथि भएको अपमान, तिरस्कार सम्झिरहेँ, जसले कलिलै उमेरमा मृत्यु रोजेका थिए ।

सगरमाथा आरोहणका लागि अप्रिल १९ मा काठमाडौंबाट निलमको टोली हिँडेको थियो । सोही दिन लुक्लाबाट टोली अगाडि बढ्यो । आठौँ दिनमा उनीहरू नाम्चे हुँदै आधार शिविर पुगे । उनको टोलीले १७ मे होमोफोबिया दिवसको दिन नै शिखर पुग्ने योजना बनाएको थियो । प्राविधिक कारण उनको टोलीले सो दिन शिखर चुम्न सकेन । मे १७ मा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । १७ मे १९९० मा समलैंगिकतालाई मानसिक रोगको सूचीबाट हटाएको ऐतिहासिक दिनलाई होमोफोबिया दिवसका रूपमा मनाउन थालिएको हो । आधार शिविरबाट उनको टोली क्याप १, २, ३, ४ हुँदै शनिबार सगरमाथाको चुचुरोमा पुगेको थियो । 

कठिन तर सुरक्षित यात्रा 
निलमको टिम क्याम्प ३ र ४ मा रातभरि हिँड्यो । उनी जति अगाडि बढ्थिन्, त्यति गाह्रो हुँदै थियो । आरोहणकै क्रममा अगाडि बढ्न नसकेर कोही रोकिएको देखिन् । कोही मृत्युको मुखमा पुगेको पनि देखिन् । तर, उनले यात्रा रोकिनन् । यात्राका क्रममा उनले सहरले नदिएको माया पाइन् । सम्मान पाइन् । सुरक्षित महसुस गरिन् । उनले त्यहाँ आफ्नो पहिचानबारे कसैलाई भन्न परेन । आफ्नो लिंग र समुदायबारे उनीहरूमाझ चिनाउनु परेन । विभेदका शब्दले झटारो हानेनन् । ‘आरोहणका क्रममा मैले एकदमै सुरक्षित फिल गरेँ । मलाई मेरो लैंगिकताभन्दा व्यक्तिको रूपमा हेरियो,’ उनले भनिन् ।

यात्रामा ज–जसलाई भेटिन्, उनीहरू सबैले निलमको तारिफ गरे । उनको सफल आरोहणका लागि प्रार्थना गरे । ‘म मेरो परिवारलाई समेत नभनी आरोहणका लागि गएको थिएँ । तर, त्यहाँ मेरो बारेमा सबैलाई जानकारी थियो । यसले मलाई अगाडि बढ्न हौसला दिइरह्यो,’ उनले भनिन् ।

क्याम्प ३ देखि ४ सम्म जाने वेला उनलाई सबैभन्दा गाह्रो भयो । यात्रालाई यही टुंग्याउनैपर्ने अवस्था आउला जस्तो भयो । किनभने, स्तन प्रत्यारोपण गर्दा चिरिएको शरीर चिसो र छिटोछिटो हात चलाउनुपर्ने अवस्थाका कारण निकै कष्टकर बनेको थियो । तर, उनले आफूलाई सम्हालिन् । अगाडि बढिन् । ‘मैले आफ्नो मनलाई सम्हालेँ । मैले यति दुखाइ पनि सहन सकिनँ भने दुःख गरेको के काम भयो भनेर अगाडि बढेँ,’ ती दिनका दुखाइ सम्झँदै उनले भनिन् ।

शिखरबाट फर्किंदै गर्दा क्याम्प ४ मा फेरि निलमले अर्को कठिन क्षण पार गर्नुपर्ने भयो । बेस्सरी हावा चल्यो । मान्छे हिँड्न त के टेन्ट नै उडाउला जस्तो भयो । फर्किंदा बेस्सरी हुरी चल्यो । खानेकुरा सकियो । निदाउन सकिनन् । ‘त्यही वेला मलाई भित्रैबाट ल म मरेँ भन्ने विचारसमेत आएको थियो । भित्रैबाट कमजोर भएको थिएँ । मेरो साथीहरूले अगाडि बढ्न हौसला दिइरहे । बिस्तारै रुँदै तल झर्न सफल भएँ ।’

क्याम्प ३ पुग्दा केहीबेर अगाडि बढ्न सकिनन् । टेन्टको बाहिरै लडिदिइन् । त्यहाँ केहीबेर आराम गरिन् । केही खानेकुरा खाइन् । त्यसपछि उनमा केही साहस आयो । ती कठिन अवस्था पार गर्न सकेकाले उनको आँखाबाट आँसु भने बगि नै रह्यो । घिस्रिँदै भए पनि फर्कन सकेँ भन्ने उनीलाई लागिरह्यो । चार घण्टाको त्यो बाटो सात घण्टामा पार गरिन् ।

पहिचान मुख्य बाधक 
काठमाडौंमा संघर्ष गरिरहेकी उनलाई सगरमाथाको चुचुरोसम्म पुग्छु भन्ने कहिल्यै लागेको थिएन । किनभने, यो समाजले उनलाई बाँच्न नै कठिन बनाइरहेको थियो । सहरमा बाँच्नका लागि उनले विभिन्न क्षेत्रमा संघर्ष गरिन् । तैपनि, एउटा ज्यान पाल्नै धौधौ थियो । पत्रपपित्रकाको विज्ञापनमा देखिएको ‘रोजगारीको अवसर’ भन्ने ठाउँमा खोजतलास गरेर पुग्दा उनलाई भनिन्थ्यो, ‘तिमीजस्तोका लागि यो काम होइन ।’

तिरस्कारहरूले उनलाई सरगरमाथा आरोहण गर्ने प्रण थपिदियो । निलमले मनमनै योजना बनाइन्, यिनीहरूलाई देखाउनै भए पनि सगरमाथा शिखरमा पुगिछाड्छु । शिखरमा पुग्न सजिलो थिएन । संयोगवश उनले जुन कम्पनीबाट आरोहण गरिन्, त्यही कम्पनीका एकजनासँगको भेटले आरोहण गर्ने आँट भर्‍यो । उनले नै निलमको सपना साकार पार्न सहयोग गर्ने वचन दिए । आरोहणका लागि आवश्यक विभिन्न काममा सघाए । त्यसपछि उनले विभिन्न तालिम लिइन् । शारीरिक र मानसिक रूपमा आफूलाई तयार गरिन् । 

गत अगस्टमा ६ हजार ४७६ उचाइको मेरो पिक आरोहण गरिन् । यो हिमाल आरोहण गर्ने पनि उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट पहिलो नेपाली बनेकी थिइन् । त्यो आरोहणसँगै उनमा जोस थपियो । गरे हुने रहेछ भन्ने भयो । अनि सगरमाथा आरोहणका लागि आर्थिक सहयोग जुटाउन लागिन् ।

यहाँ पनि निलमको पहिचान मुख्य बाधक भयो । उनी ट्रान्स वुमन भएकै कारण सहयोगका लागि धेरैजना सहमत भएनन् । जुन उत्साहका साथ अरूलाई आर्थिक सहयोग प्राप्त हुन्छ, त्यो सहयोग उनलाई प्राप्त हुन सकेन । ‘आर्थिक सहयोगका लागि प्रपोजल बोकेर हिँड्दा तपाईंहरूजस्तोलाई समाजमा हेर्ने दृष्टिकोण राम्रो छैन । हामी सहयोग गर्न सक्दैनौँ भने,’ उनले भनिन् । यस्तै वाक्य बोकेर उनी धेरै ठाउँबाट खाली हात फर्किइन् । 

तैपनि, निलमले हिम्मत हारिनन् । उनले आफूसँग भएको केही गरगहना, केही बचत र केही सम्पत्तिबाट पुग–नपुग रकम जम्मा गरिन् । सगरमाथाको शिखरमा पुग्नका लागि उनी आर्थिक रूपमा शून्यमै झरिन् । उनलाई कुल खर्चको करिब १५ प्रतिशत मात्र आर्थिक सहयोग प्राप्त भएको थियो । 

अनि पहिचान खुलाइन् 
मोरङमा जन्मिएकी उनी बिहान खाए बेलुका के खाऊँ भन्ने परिवारमा जन्मिन् । सुकुम्बासी बस्तीमा उनको घर थियो । उनको चार दाजुभाइ र चार दिदीबहिनी छन् । सानैदेखि उनलाई नाचगान गर्ने, केटीले प्रयोग गर्नेजस्तै सामग्री मन पर्थ्यो । अन्य छोराछोरीभन्दा चलाख पनि थिइन् । यही कारण उनको बुबाले उनलाई पढाउने जुक्ति निकाले । आफूले पढाउन नसकेपछि छोराले पढोस् भनेर बाल श्रमिकको रूपमा एउटा घरमा राखिदिए । बाल श्रमिककै रूपमा काम गर्दै{ उनले विद्यालय शिक्षा पढिन् । कक्षा आठ पढ्दैताका उनले आफू फरक भएको चाल पाइन् । तर, कसैलाई यसबारे भन्न सकेकी थिइनन् । एसएलसी पास गरेपछि भने घर गएर परिवारमा आफूलाई छोरा नभई छोरीको रूपमा स्विकार्न भनिन् । त्यति भनेर फनक्क फर्किइन् । आफ्ना बारेमा बताएको दिन उनी घर जान सकिनन् । हप्ता दिनसम्म विभिन्न ठाउँमा आश्रय लिएर बसिन् ।

हप्ता दिनपछि केटीको पाइन्ट लगाएर मेकअप गरी घर गइन् । त्यो दिन उनलाई बुबाले केही भनेनन् । केही नभन्नुको अर्थ समर्थन पाएँ भन्ने उनले बुझिन् । सहर फर्कने दिनमा भने उनको बुबा बोले, ‘तिमी जे गर्छौ राम्रो गर । अरूले औँला उठाउने काम नगर । म जहिल्यै तिम्रो साथमा हुनेछु ।’ काठमाडौं फर्केपछि उनले आफूजस्तै साथीहरू भेटिन् । विभिन्न संघर्षका बाबजुद विभिन्न काम गरिन् । वैदेशिक रोजगारीका लागि कतार, दुबई गइन् । दुबईमा कमाएको पैसाले स्तन प्रत्यारोपण गरिन् । बुबाले अन्तिम घडीमा उनलाई ‘छोरी’ शब्द प्रयोग गरे । उनलाई उडान भरेको अनुभव भयो । तर, त्यसपछि उनका लागि झन् कठिन समय अगाडि उभियो । आफू र आफ्नो समुदायको कठिन अवस्थामा केही सुधार ल्याउन सकिन्छ कि भनेर नेपालमै बसेर केही गर्ने तर फरक गर्ने प्रण गरिन् । त्यसैको नजिता हो, सगरमाथा आरोहण ।

‘सगरमाथा चढ्न र समाजसँग संघर्ष गर्न कुन चाहिँ गाह्रो ?’ प्रश्न सुनेर उनले तुरुन्तै भनिन्, ‘समाजसँग ।’ उनले थपिन्, ‘हरेक पाइलामा अपशब्द बोल्छन् । कहिल्यै मान्छेको रूपमा लिँदैनन् । केही गर्छु भन्दा विश्वास गर्दैनन् । त्यसैले, सगरमाथा आरोहण गर्नभन्दा यो समाजसँग संघर्ष गर्न धेरै कठिन लाग्छ ।’

परिवारका सदस्यलाई समेत जानकारी नदिई आरोहणका लागि हिँडेकी निलमले काठमाडौंबाट हिँड्ने क्रममा तीनवटा चिठी लेखेकी थिइन् । फर्किन्न होला भन्ने लागेर उनले चिठी लेखेकी थिइन् । अन्तिम भनी लेखेको चिठी पढ्दा हर्षविभोर हुन्छिन् । ‘मेरो यो सफलताले समाज र राज्यलाई कस्तो सन्देश गयो भन्न सक्दिनँ,’ उनले भनिन्, ‘हामीले धेरै अगाडिदेखि राम्रो काम गर्दै आयौँ । तर, हामीलाई कहिल्यै सम्मानजनक व्यवहार भएन । त्यसैले, मेरो समुदायलाई हामी पनि कम छैनौंँ, हामी पनि गर्न सक्छौँ भन्ने सन्देशचाहिँ पक्कै गएको छ ।’

See More On

सुझावित समाचार